कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो


बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सांसद भण्डारीको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

हिजो राति घाइते हुनुभएका नेता डा. भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको थियो ।

आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।