अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । साथै, हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गरेका छन् ।
ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको जिकीर गरेका छन् भने उक्त क्षेत्रबाट प्रत्यक्ष लाभ लिने खाडी राष्ट्रहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
पछि न्युजम्याक्ससँगको अन्तर्वार्तामा उनले हालैको अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गरे । इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको उनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पले इरानसँग रहेका १५९ वटा नौसैनिक जहाजमध्ये अधिकांश नष्ट भएको दाबी गर्दै अहिले ती समुद्रको सतहमुनि पुगेको टिप्पणी गरे । त्यस्तै, इरानका करिब २०० वटा विमान नष्ट भएको, राडार तथा एन्टी–एयरक्राफ्ट प्रणाली ध्वस्त पारिएको र हतियार उत्पादन गर्ने क्षमता करिब ८४ प्रतिशतसम्म कमजोर बनाइएको दाबी उनले गरे ।
निरन्तर सैन्य अभियानपछि इरानको आक्रामक क्षमता उल्लेखनीय रूपमा घटेको भन्दै ट्रम्पले अहिलेको इरान चार महिनाअघिको इरानभन्दा पूर्ण रूपमा फरक अवस्थामा पुगेको दाबी गरे । उनका अनुसार इरानसँग अझै केही मिसाइल र सीमित सैन्य क्षमता बाँकी रहे पनि त्यसको प्रभाव पहिलेको तुलनामा निकै कम भइसकेको छ ।
इरानलाई मध्यपूर्वको अस्थिरताको प्रमुख स्रोतका रूपमा चित्रण गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले तेहरानप्रति कडा नीति अवलम्बन गरेको दोहोऱ्याए । इरानले आफूलाई दबाबमा पार्न नसकेको र आफ्नो प्रशासनले त्यसलाई स्वीकार नगरेको पनि उनले बताए ।
प्रतिक्रिया