संस्थाको गरिमामा आँच पुऱ्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति

संस्थाको गरिमामा आँच पुऱ्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति


प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुऱ्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

महाशिवरात्रि तथा सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आज सकल दर्जालाई सम्बोधन गर्दै उहाँले नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकल दर्जाले देखाएको तत्परता, पहल र उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराख्न तथा उज्ज्वल भविष्यलाई निर्देशित गरेको बताउनुभयो ।

प्रधानसेनापति शर्माले आइपर्नसक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकल दर्जाले पेसागत ज्ञान, सीप र बन्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, ‘हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन्-झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको छ, सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्र राष्ट्रका सेनासँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरू विस्तार गर्दै अघि बढेको छ ।’

उहाँले सरकार र जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि उच्च पेसागत क्षमता र हौसलाका साथ हरहमेसा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, ‘सुदृढ र सु-सङ्गठित सेना नै राष्ट्रिय हितको संरक्षण र संवद्र्धनको आधारशिला भएकाले आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र रही युनिट तथा सङ्गठनको हित हुनेगरी सकारात्मक कार्यमा प्रयोग गर्न आवश्यक छ ।’ विसं १८१९ मा नेपाली सेनामा पाँचवटा कम्पनी स्थायीरूपमा खडा भएको वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुआतीका रूपमा लिँदै यसपटक दुई सय ६०औँ सेना दिवस मनाइँदै छ ।