रहर र जलन

रहर र जलन


✍ गंगा खड्का

भोलि आगोमा जल्नु
र, आज जलनले जल्नु
जल्नु त आखिर जल्नु रहेछ, बल्नु रहेछ ।

सपना सधैं आफ्नो हुँदैन थाहा छ
तैपनि, प्यारो लाग्ने भनेकोसपनै रहेछ
विपनामा रहरहरू बोकी पर्खाइमा बाँच्नुपर्छ
मनको आशा बेकार भयो निभ्यो फेरि दियो
उधारो नै त थियो जीवन फेरि उसैले लियो
हराएको मेरो छाया तिमीसँगै गएछ
रित्तो भेटेँ छाती पनि ढुकढुकी शून्य भएछ ।

कहीँ कतै कथा रोए
म रोएको सम्झिदिनू
उधारो रहेछ जिन्दगी
माया तिमीले राखिदिनू
जल्दैछ मुटु सुस्तरी यहाँ,
नदेखे झैँ गर्छौ फेरि
बल्दैछ छाती पनि,
लैजान्छौ कि फेरि अँगालोमै बेरी ।

रहर बोकी पर्खाइमा
बाँच्ने आधार खोज्नुपर्छ
निभाइदिन्छन् बत्तीहरू सहाराले बाल्नुपर्छ
धड्किएको मुटु छातीभित्रको,
महसूस गर्न जान्नुपर्ने रहेछ ।

भोलि आगोमा जल्नु
र, आज जलनले जल्नु
जल्नु त आखिर जल्नु रहेछ, बल्नु रहेछ ।