हिन्दुत्व अर्थात् नेपाली काङ्ग्रेसको अबको बाटो

हिन्दुत्व अर्थात् नेपाली काङ्ग्रेसको अबको बाटो


✍ महेन्द्र पाण्डेय

विगतमा नेपाली काङ्ग्रेस उँभो गतिमा थियो । त्यतिबेला नेपाली काङ्ग्रेसको उँभोगतिलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको उँभो गतिसँग जोडेर विश्लेषण गर्ने गरिएको पाइन्थ्यो । आज नेपाली काङ्ग्रेस अधोगतिमा छ । नेपाली काङ्ग्रेसको आजको अधोगतिलाई धेरैले भारतीय राष्ट्रिय काङ्ग्रेसको अधोगतिसँग जोडेर हेर्ने गरेको पाइन्छ ।

स्थापनादेखिको करिव ६० वर्ष अवधिमा नेपाली काङ्ग्रेस कसरी मुलुकको राजनीतिको केन्द्र भूमिकामा रह्यो ? पछिल्ला १५ वर्षयता काङ्ग्रेस किन भूमिकाविहीन एवम् अधोगतिमा छ भन्ने प्रश्नको उत्तर खोज्न छिमेकी मुलुक भारतको राजनीति र त्यहाँको राष्ट्रिय काङ्ग्रेसको विषयमा छोटो अध्ययन गर्नैपर्ने हुन्छ । किनकि, भारत भनेको नेपालसँगको खुला सीमाना जोडिएको मुलुक मात्रै नभएर जनचेतनाको स्तरसमेत एउटै भएको देश हो । भुगोल उस्तै हो, भाषा तथा संस्कृति उस्तै हो, इतिहास उस्तै हो ।

भारतीय राष्ट्रिय काङ्ग्रेस भारतलाई अङ्ग्रेजको उपनिवेशबाट मुक्त गरी लोकतन्त्र स्थापना गर्ने उद्देश्यसहित सन् १८८५ मा स्थापना गरिएको पार्टी हो भारतीय राष्ट्रिय काङ्ग्रेस । त्यतिबेला कन्याकुमारीदेखि केदारनाथसम्म र मणिपुरदेखि इश्लामावादसम्मका जनताको एउटै चाहना थियो अङ्ग्रेजको उपनीवेशबाट मुक्त गरेर लोकतन्त्र स्थापना गर्ने ! सिंगो भारतका जनताको यो चाहनालाई राष्ट्रिय काङ्ग्रेसले अभियानकै रूपमा अघि बढायो । सबै क्षेत्रका परिवर्तनकामी जनता राष्ट्रिय काङ्ग्रेससँग जोडिँदै गए । करिव ५६ वर्ष लामो संघर्षपछि सन् १९४७ मा अङ्ग्रेजलाई हटाएर लोकतान्त्रिक भारत निर्माण गर्न राष्ट्रिय काङ्ग्रेस सफल भयो । यो ५६ वर्षको संघर्षका क्रममा राष्ट्रिय काङ्ग्रेस भारतका कुना–काप्चाका जनतासँग जोडिइसकेको थियो । एक हिसाबले राष्ट्रिय काङ्ग्रेस विशाल भारतको राष्ट्रिय एकताको प्रतीक भइसकेको थियो । भारतकै बुद्धिजीवीहरूले स्वीकारेका थिए- ‘विशाल भारतको राष्ट्रिय एकताको प्रतीक भनेको कि त अङ्ग्रेजले बनाइदिएको रेलमार्ग हो, कि त राष्ट्रिय काङ्ग्रेस हो, राष्ट्रिय काङ्ग्रेसविना अखण्ड भारतको कल्पना पनि गर्न सकिन्न ’

देशब्यापी सञ्जाल भएको र सबै जनतासँग जोडिएको शक्ति त्यतिबेला राष्ट्रिय काङ्ग्रेसबाहेक अर्को थिएन । त्यही साखका कारण स्वतन्त्रतापछि भारतमा भएका निर्वाचनमा लगातार राष्ट्रिय काङ्ग्रेसले चुनाव जित्दै आयो । सन् १९४७ सालपछि लगातार १५ वर्ष जवहरलाल नेहरू प्रधानमन्त्री बने, त्यसपछि इन्दिरा गान्धी १७ वर्ष प्रधानमन्त्री बनिन्, राजीव गान्धी १० वर्ष, पीभी नरसिंह राव १० वर्ष, मनमोहनसिंह १० वर्ष प्रधानमन्त्री बने । केही अपवादबाहेक अधिकांश प्रान्तमा लामो अवधिसम्म राष्ट्रिय काङ्ग्रेसले नै चुनाव जित्यो । यो अवधिमा राष्ट्रिय काङ्ग्रेस धेरै पटक टुक्रियो । यी टुक्राहरू प्रान्तिय पार्टीको भूमिकामा मात्रै रहे ।

एकातिर लगातार सत्तामा रहेका कारण जनताको आकर्षण राष्ट्रिय काङ्ग्रेसप्रति घट्दै गयो, स्वतन्त्रता संग्राममा भाग लिएको पुस्ता सकिँदै गएपछि राष्ट्रिय काङ्ग्रेसले जनतालाई एक सुत्रमा बाँध्न सकेन । पार्टी टुक्रिँदै गयो । १०-१२ वटा पार्टी जुटाएर मात्रै संघीय सरकार गठन गर्नुपर्ने बाध्यता बढ्दै गएपछि भारतको बौद्धिक वर्गले राष्ट्रिय एकताको प्रतीकका रूपमा अर्को पार्टी खोजिरहेको थियो । त्यो विकल्पका रुपमा हिन्दुवादी पार्टी विजेपीको उदय भयो । बीजेपी नयाँ पार्टी थिएन, भारत स्वतन्त्र भएपछि मुसलमानहरूको छुट्टै पाकिस्तान हुन्छ भने हिन्दुहरूको छुट्टै हिन्दुस्थान किन नबनाउने ? भनेर सुरु गरिएको अभियान थियो बिजेपी । तर, राष्ट्रिय काङ्ग्रेसमा स्वतन्त्रता सेनानी रहेसम्म जनताले बिजेपीलाई विकल्पका रूपमा हेरेका थिएनन् । जब समयक्रमसँगै काङ्ग्रेसमा स्वतन्त्रता सेनानीहरू सकिए तब जनताले विकल्प खोजे । विकल्प पनि यस्तो खोजे कि सबै जनतालाई एउटै सुत्रमा उन्न सक्ने । त्यो सुत्र बिजेपीसँग मात्रै थियो । किनकि विजेपीले हिन्दुत्वको सुत्र बोकेको थियो । बिजेपीले अघिसारेको यही हिन्दुत्वको सुत्र यतिबेला भारतको राष्ट्रिय एकताको प्रतीक बनेको छ । जसले कन्याकुमारीदेखि केदारनाथसम्म र मणिपुरदेखि पन्जावसम्मका जनतालाई एउटै धागोको मालामा उनेको छ । त्यो धागो हो- ‘हिन्दुत्व ।’

नेपाली काङ्ग्रेसले विनासको यही बाटोलाई निरन्तरता दिने कि सङ्घीयता खारेज गर्दै हिन्दुत्वको सुत्रमार्फत नेपाललाई एउटै मालामा उन्ने कोशिस गर्ने ? यसको निर्क्यौल गर्न ढिलाइ गर्नु हुँदैन ।

नेपाली काङ्ग्रेस राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यका साथ २००३ सालमा गठन भएको पार्टी हो । ताप्लेजुङका शेर्पादेखि कन्चनपुरका थारुसम्म र दार्चुलाका ब्याँसीदेखि झापाका राजवंशीसम्मलाई एउटै टेवुलमा राखेर गठन गरिएको पार्टी हो नेपाली काङ्ग्रेस । त्यसभन्दा अघि सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने एउटै संयन्त्र नेपालमा बनेको थिएन । पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि जनस्तरमा एकीकरण हुन बाँकी नै थियो । नेपाली काङ्ग्रेसको स्थापनासँगै जनस्तरमा नेपालको एकीकरण सम्पन्न भएको हो ।

जसरी नेपाली काङ्ग्रेस गठनका लागि झापादेखि दार्चुला र ताप्लेजुङदेखि कञ्चनपुरका जनता एक ठाउँमा उभिएका थिए त्यसरी नै सबै क्षेत्र, जाति तथा तह-तप्काका जनता एउटै मोर्चामा खडा भएर २००७ सालको जनक्रान्ति सम्पन्न गरे । स्थापनाको ४ वर्षमै आफ्नो उद्देश्य पूरा गर्न नेपाली काङ्ग्रेस सफल भयो । जनताले पनि त्यहीअनुसार नेपाली काङ्ग्रेसको मुल्याङ्कन गरे । २०१५ सालको आमनिर्वाचनमा दुई तिहाई बहुमतका साथ नेपाली काङ्ग्रेसले चुनाव जित्यो । अरु पार्टीहरूले अस्तित्वसमेत जोगाउन सकेनन् । २०१७ साल पुस १ गते देखि २०४६ साल चैत २६ गतेसम्मको ३० वर्ष राजाहरूले आफै प्रत्यक्ष शासन गरे । जसलाई पञ्चायती ब्यवस्थाको नाम दिइएको थियो । पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र पुनवर्हाली गर्ने अभियानको नेतृत्व पनि नेपाली काङ्ग्रेसले नै ग¥यो । फलस्वरुप २०४८ सालको आम निर्वाचन र २०५६ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जनताले बहुमत दिलाए । २०५१ सालको मध्यावधी निर्वाचनमा भने काङ्ग्रेसलाई जनताले दोस्रो पार्टी बनाएका होइन, काङ्ग्रेस आफै विभाजन भएर चुनावमा होमिएका कारण अर्थात् नचाहिँदो काम गरेका कारण दोस्रो भएको हो । २०५९ सालमा काङ्ग्रेसकै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरे तर आम निर्वाचन गराएनन् । त्यसपछि मुलुकको बौद्धिक वर्ग, जसले जनतालाई ‘इन्फुलेन्स’ गर्न सक्छ, त्यो वर्ग काङ्ग्रेससँग बिच्कियो । यही अवधिमा काङ्ग्रेस फुट्यो ।

२०६४ सालयता भने काङ्ग्रेस निरन्तर ओह्रालो लागेको छ । काङ्ग्रेसको भोटबैंकका रूपमा रहेको मधेसमा छुट्टै मधेसी दल गठन भए । काङ्ग्रेसबाटै फुटेर गएका नेताहरूले मधेसीदल गठन गरे । पहाडमा कम्युनिष्टहरूको वर्चश्व छँदै थियो । यतिबेला नेपाल यस्तो अवस्थामा गुज्रिएको छ कि पहाडमा कम्युनिष्टहरूको वर्चश्व छ, मधेशमा थुप्रै मधेसीदल उम्रिएका छन् । बहुमत ल्याएर सत्ता निर्माण गर्ने ताकत कुनै पार्टीको छैन । ५-७ वटा पार्टी जोडजाड गरेर सरकार निर्माण गर्नुपर्ने र टिकाउनुपर्ने अवस्था छ । त्यसमाथि पनि संविधानमा समानुपातिक नाम गरेको यस्तो चुनावी पद्दति छिराइएको छ कि, जुन पद्दतिका कारण कुनै एक पार्टीले बहुमत ल्याउनै सक्दैन । मधेसीदलका कारण काङ्ग्रेसले बहुमत ल्याउन नसक्ने, माओवादीका कारण एमालेले बहुमत ल्याउन नसक्ने अवस्थामा मुलुक गुज्रिएको छ ।

नेपाली काङ्ग्रेसको अबको बाटो

भारतको राष्ट्रिय काङ्ग्रेस जस्तै नेपालको नेपाली काङ्ग्रेस पनि थोत्रो हुँदै गएको कटु यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । भारतमा राष्ट्रिय काङ्ग्रेस थोत्रो हुँदै गएपछि हिन्दुत्वको सुत्रका साथ उदाएको विजेपीले विकल्प दिएको छ, त्यसरी नै एउटा सुत्रको खोजी नेपालमा सुरु भइसकेको छ । सङ्घीयता र धर्मनिरपेक्षता अधिकांश नेपाली जनताले मन पराएका छैनन् । जनताको यही भावनालाई ‘क्यास’ गर्दै प्रतिगामी पार्टी राप्रपाले ह्वात्तै जनमत बढाएको छ । उदाहरणका लागि गत आम निर्वाचनमा भन्दा अहिलेको आम निर्वाचनमा नेपाली काङ्ग्रेसको जनमत २३ प्रतिशत घटेको छ । तर राप्रपाको जनमत अघिल्लो आम निर्वाचनको तुलनामा यस आम निर्वाचनमा १ सय ७ प्रतिशत बढेको छ । नेपाली काङ्ग्रेसको लागि यहाँ भन्दा खतराको घण्टी केही हुँदैन । सङ्घीयता र धर्मनिरपेक्षता भनेका जनविरोधि एजेण्डा हुन् भन्ने कुरा चुनावी परिणमले पुष्टि गरिसकेको छ । जनविरोधी एजेण्डा बोक्ने पार्टीको विनास निश्चित जस्तै हुन्छ । नेपाली काङ्ग्रेसले विनासको यही बाटोलाई निरन्तरता दिने कि सङ्घीयता खारेज गर्दै हिन्दुत्वको सुत्रमार्फत नेपाललाई एउटै मालामा उन्ने कोशिस गर्ने ? यसको निर्क्यौल गर्न कत्ति पनि ढिलाइ गर्नु हुँदैन ।

नेपाली काङ्ग्रेसलाई अझै पनि समयले कुरेको छ । बिजेपी जस्तै हिन्दुत्ववादी प्रभावशाली पार्टी स्थापना भइसकेको छैन । राप्रपालाई जनताले पत्याएका छैनन् । काङ्ग्रेसका लागि अझै दुई/चार वर्ष समय छ । यो समयभित्रै काङ्ग्रेसले सङ्घीयता र धर्मनिरपेक्षता खारेजीको लाइन अङ्गिकार गरिसक्नुपर्नेछ । अब पहाडी र मधेसीलाई एउटै सुत्रमा बाँध्ने भनेको हिन्दुत्वको एजेण्डाले हो, यसबाहेक अर्को एजेण्डा छैन । नेपाली काङ्ग्रेसले हिन्दुत्वको एजेण्डा अङ्गिकार गर्नासाथ मधेसी दल सकिन्छन्, पहाडमा कम्युनिष्टबाहेक अरु दल बाँकी रहन्नन् । अनि मात्रै चुनावमा बहुमत प्राप्त गर्न नेपाली काङ्ग्रेसलाई कुनै तागतले छेक्दैन । तर काङ्ग्रेस यसरी नै जाने हो भने मधेसको जनमत मधेसवादी दलले खोसेजस्तै पहाडको जनमत राप्रपालगायत अरु हिन्दुवादी शक्तिले खोसिदिनेछन् । अनि नेपाली काङ्ग्रेसलाई भारतको राष्ट्रिय काङ्ग्रेसको नियति भोग्नबाट कुनै पनि तागतले बचाउन सक्ने छैन ।