रेडक्रस कानुन निर्माण गर्न लागिपर्ने सांसद थापाको उद्घोष

रेडक्रस कानुन निर्माण गर्न लागिपर्ने सांसद थापाको उद्घोष


  • सन्जिव दुलाल, भक्तपुर

प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सभालाई सम्बोधन गर्दै थापाले रेडक्रस भनेपछि ब्लड र फल्डको लागि सहयोगी भनी चिनिएको र अब यसलाई आफ्नो कानुन निर्माण गराउँदै एक स्वायत्त संस्थाको रूपमा समाजसेवामा अग्रणी तुल्याउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय रेडक्रस केवल राजनीति गर्ने थलो मात्र भएको बताउँदै उनले यो राजनीति गर्ने थलो नभइ मानव सेवा गर्ने थलो भएको उल्लेख गरे । रेडक्रसलाई मानवसेवाको थलो मात्र बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

हाल सबै संघ–संस्था राजनीतिको जालोले बिग्रेकोले यो जालो चिर्दै संघ–संस्थाहरूलाई राजनीतिमुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका जनतालाई रगत निःशुल्क उपलब्ध गराउन पहल गर्ने बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बताए भने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रेडक्रस र स्थानीय निकाय सँगसँगै रहनुपर्ने भन्दै नगरवासीको सेवाका लागि निःशुल्क रगत उपलबधतामा आफूहरूले पहल गरेको जानकारी दिए ।

यस्तै, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोज कुमार थापाले रगतबाट भक्तपुरको चिनारी भएको बताए । न्याय नपाए गोर्खा जानु शिक्षा नपाए कासी जानु भनेजस्तै देशभर रगत नपाए भक्तपुर जानु भन्ने उक्ति सार्थक भएको उनको जिकिर थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल, काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेल, सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मा, पूर्व सभापति केपी अवाल, जिल्ला उपसभापति कृष्णेश्वरी हाडालगायत वक्ताले भक्तपुर रेडक्रसका कार्यको प्रशंसा गरेका थिए ।