भारतले नेपाललाई मिर्गौला डायलाइसिस मेसिन २० थान उपहार प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सोमबार उल्लिखित सङ्ख्यामा डायलाइसिस मेसिनहरू हस्तान्तरण गर्नुभएको हो । भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई उपहारस्वरुप प्रदान गरिन लागिएको दुई सय वटा यस्ता मेसिनमध्ये पहिलो किस्तामा २० वटाको हस्तान्तरण भएको हो । डायलाइसिस मेसिनहरूका साथ आवश्यक सबै सम्बन्धित उपकरण पनि उपलब्ध गराइएको र बाँकी मेसिनहरू चाँडै उपलब्ध गराइने बताइएको छ ।
मेसिन हस्तान्तरण समारोहमा मन्तव्य दिने क्रममा राजदूत श्रीवास्तवले भारत र नेपालबीच विशेषगरी स्वास्थ्यक्षेत्रमा लामो समयदेखि रहँदै आएको विकास सहकार्यबारे चर्चा गर्दै यी मेसिनको हस्तान्तरणले स्वास्थ्य पूर्वाधारको विकासमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पुऱ्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको बताउनुभयो ।
त्यसैगरी स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य-सुविधालाई नेपाली जनतामाझ बिस्तार गर्न मिर्गौला डायलाइसिस मेसिनलगायत भारत सरकारले स्वास्थ्यको क्षेत्रमा गर्दै आएको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
स्वास्थ्यक्षेत्रमा सहकार्य भारत-नेपाल विकास साझेदारीको महत्वपूर्ण पक्ष हो । नेपालका विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित झन्डै ५० वटा उच्च प्रभावी सामुदायिक परियोजनाका अतिरिक्त काठमाडौंस्थित नेपाल-भारत मैत्री आपतकालीन तथा ट्रमा सेन्टर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित वीर अस्पतालको ओपीडी कम्प्लेक्स जस्ता प्रमुख स्वास्थ्य संस्थाहरू भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएका हुन् ।
त्यस्तै, भारतले नेपालका भूकम्पप्रभावित विभिन्न जिल्लामा १३२ वटा स्वास्थ्यचौकीहरूको निर्माणका लागि भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत ५० मिलियन अमेरिकी डलर प्रदान गरेको छ । भारत सरकारले कोभिड महामारीको बेला द्विपक्षीय अनुदान (२० लाख भन्दा बढी डोज) र कोभ्याक्समार्फत खोप उपलब्ध गराउनुका अलावा स्वास्थ्य संस्थाहरुको भौतिक क्षमता अभिवृद्धि गर्न नेपाललाई सहयोग गरेको थियो । साथै भारत सरकारले नेपाललाई आइसीयु बेड, मेडिकल अक्सिजन प्लान्ट, अत्यावश्यक औषधी, आरटी-पीसीआर टेस्ट किट्स, पीपीई, भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरणहरु पनि उपलब्ध गराएको थियोे । भारत सरकारले प्रत्येक वर्ष नेपालका विभिन्न स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म नेपालका लगभग सबै जिल्लामा गरी ९४० वटा एम्बुलेन्स वितरण गरिसकेको छ ।
निकट छिमेकीको हिसाबले भारत र नेपालबीच बहुआयामिक एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस मिर्गौला डायलाइसिस मेसिनको हस्तान्तरणले स्वस्थ नेपालको निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा भारतले पुऱ्याउँदै आएको सहयोगलाई प्रतिबिम्बित गरेको सम्वद्ध पात्रहरूको भनाइ छ ।
प्रतिक्रिया