सिटौलाले प्रतिवेदन लुकाएपछि काङ्ग्रेसका दुवै नेता बेखबर

सिटौलाले प्रतिवेदन लुकाएपछि काङ्ग्रेसका दुवै नेता बेखबर


प्रधानसेनापति छत्रमान गुरुङले माघ २९ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुटुक्क बुझाउनुभएको प्रतिवेदन यति चाँडै यसरी सार्वजनिक हुन्छ भन्ने सायद उहाँले सोच्नुभएको थिएन, नसोचेकै भयो- गोप्य प्रतिवेदन सार्वजनिक भइसकेको छ । भावी सेनापतिका रूपमा रहनुभएका जनरल गौरवशमशेर राणा र अर्का जनरल नेपालभूषण चन्दलगायत कुनै पनि उच्चाधिकारीलाई सुइँकोसमेत नदिई तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीले पनि गोप्य नै राखिदिने विश्वास सम्भवतः प्रधानसेनापतिमा हुँदो हो, तर प्रधानमन्त्री भट्टराईले उक्त प्रतिवेदन गोप्य राखिरहन आवश्यक र उचित ठान्नुभएन । उहाँले एक प्रति पार्टी अध्यक्ष प्रचण्डलाई र अर्को एक प्रति काङ्ग्रेस महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला र अर्का काङ्ग्रेस नेता अमरेश सिंहलाई अध्ययनका लागि भन्दै तत्काल उपलब्ध गराउनुभएको थियो । प्रतिवेदन हातमा परेपछि प्रचण्डले औपचारिकताका लागि पार्टीका खासखास साथीहरूसँग छलफल चलाउनुभयो, पछि त माओवादी स्थायी समितिको बैठकमै उक्त प्रतिवेदनलाई छलफलको विषय बनाइयो । सेनाले आफ्नो होइन भनिरहेको प्रतिवेदनलाई माओवादीले सेनाकै प्रतिवेदन भएको किटानीका साथ छलफल चलाउनुलाई जानकारहरूले गम्भीर मानेका छन् । उता प्रधानमन्त्रीबाट प्रतिवेदन हात पारेका सिटौलाले भने पार्टीका प्रमुख नेताहरूलाई पनि उक्त कुराको जानकारी गराउनुभएन । सिटौलाले अरू जो-जसलाई दिएको भए पनि कम्तीमा पार्टी सभापति सुशील कोइराला र उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेललाई चाहिँ प्रतिवेदनबारे जानकारी गराउनुभएन । पत्रपत्रिकाबाट सार्वजनिक हुन थालेपछि सिटौलाले काङ्ग्रेसका तर्फबाट विशेष समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई भने मौखिक रूपमा केही जानकारी गराउनुभएको बताइन्छ । नेताहरू कोइराला र पौडेललाई समयमै प्रतिवेदनबारे जानकारी नगराउनुको कारण बुझन सकिएको छैन । यसबाट महामन्त्री सिटौला पार्टीका मुख्य नेताहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ र उहाँ नेताहरूलाई कतिसम्म हेप्ने गर्नुहुन्छ भन्ने कुराको खुलासा भएको छ । यसरी नेताहरूसँग गोप्य राखे पनि सिटौलाले प्रतिवेदन सबैसँग गोप्य राखेको विश्वास भने गरिएको छैन ।
ज्ञातव्य छ, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सिटौलाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जानकारी प्रचण्ड र बाबुराम दुवैलाई छ । बाबुरामसँग निरन्तर सर्म्पर्कमा रहेका सिटौलाले यदाकदा माओवादीको आलोचना गर्ने गरे पनि नाम चलेको एक दैनिक अखबारले झैं खास समयमा माओवादीलाई नै लाभ पुग्ने काम गर्दै आउनुभएको छ । यो प्रकरणमा उहाँले कसलाई कसरी सहयोग पुर्‍याउनुहुने हो- प्रतीक्षा विषय बनेको छ ।