- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाअन्तर्गत रहेको गण्डक पश्चिमी नहरमा एक महिलाले दुई बालकसहित फाल हान्दा तीनै व्यक्तिको डुबेर मृत्यु भएको छ।
सुस्ता गाउँपालिका २ महलबारी बस्ने तिर्थराम थारुकी २९ वर्षीया श्रीमती प्रतिमा थरुनीले आफ्ना दुई छोरा ९ वर्षीय कृश थारु र ७ वर्षीय सुमित थारुलाई साथ लिइ नहरमा फाल हान्दा तीनै जनाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेका अनुसार घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा ७ प्रहरी र प्रहरी चौकी कुडियाका वरिष्ठ हवल्दार विज्ञान भट्टराईको नेतृत्वमा तीन प्रहरी जवानसहितले खोजतलास गर्दा घटनास्थलदेखि सय मिटरको दुरीमा तीन व्यक्तिको शव फेला परेको हो।
नहरमा फालहानी मृत्यु भएकी प्रतिमाको श्रीमान् रोजगारीको लागि भारत गएको र घरमा सासू मात्र रहेको प्रहरीले बताएको छ। मानसिक सन्तुलन ठिक नभएकी प्रतिमाले दुई बालकसहित नहरमा हामफालेर मृत्यु भएको घट्नाबारे गम्भीर ढङ्गबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नहरको पानीबाट शव निकालिएपछि सलले दुई बालकको हात बाँधिएको अवस्थामा फेला परेको पनि बताइएको छ । नहरबाट निकालिएको शवलाई पोस्टमार्टमको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया