प्रधानमन्त्री प्रचण्ड र नेका सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेका सभापति देउवाबीच भेटवार्ता


file photo

प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुुअघि आफ्नै निवासमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँग भेट गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर बुधबार नै प्रधानमन्त्री र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । कांग्रेस सभापति देउवाले लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए ।