तिलौराकोटमा थप उत्खनन सुरु

तिलौराकोटमा थप उत्खनन सुरु


  • नारद कोहार, कपिलवस्तु

गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगतजस्तै यस वर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातत्त्वक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ ।

उत्खनन कार्य ४५ दिनसम्म चल्ने र यस चरणमा तिलौराकोट क्षेत्रका विभिन्न ठाउँमा हुने पुरातात्त्वक विभागका प्रमुख पुरातत्त्वक अधिकृत एवं प्रवक्ता रामबहादुर कुँवरले बताए । तिलौराकोटको पूर्वी द्वारअगाडिको संरचना, कन्थक स्तूपनजिकै भेटिएका विहार र पोखरीको अनुसन्धान कार्य सुरु गरिएको उनको भनाइ छ । तिलौराकोटमा ‘भिजिटर सर्भे’ र अरू टोली आउने क्रम जारी रहेको उनले बताए ।

टोली आइसकेपछि कपिलवस्तु जिल्लामा रहेका विभिन्न पुरातात्त्वक स्थलमा ‘जियोफिजिक्स सर्भे’लगायतका कार्य गर्ने योजना रहेको बताइएको छ ।

विगत वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिरपछाडि, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए ।