नेकपा (एमाले)का सचिव योगेश भट्टराइले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने स्पष्ट गरे ।
विभिन्न मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनको भनाइ थियो । सत्ता समीकरण फेरिनु नहुने उनको भनाइ छ । छिटोछिटो सत्ता समीकरण फेरिँदा देशको छवि नराम्रो हुने तर्क नेता भट्टराईले गरे ।
्उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने जिकिर गरे । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्दै सो सहमतिअनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको साझा उम्मेदवार हुनुपर्ने उनको भनाइ छ ।
“तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो, सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ”, भट्टराईको भनाइ छ ।
प्रतिक्रिया