भावी राष्ट्रपतिबारे छलफल गर्न बसेको तीन दलको बैठक निष्कर्षविहीन

भावी राष्ट्रपतिबारे छलफल गर्न बसेको तीन दलको बैठक निष्कर्षविहीन


राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा बिहीबार भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् । राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापकरूपमा छलफल गरिएको र आफ्नो पार्टी (नेकपा समाजवादी) का अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउनका लागि प्रस्ताव पनि गरिएको तर केही निर्णय हुन नसकेको ज्वालाको भनाइ छ । वाम–समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा )एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको बैठक बसेको हो । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

यसअघि बिहीबार नै जसपाका अध्यक्ष यादवले उपराष्ट्रपतिको निर्वाचनको सवालमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।