‘महान् शहीद ! लाल सलाम !!’

‘महान् शहीद ! लाल सलाम !!’


कटाक्ष

✍ मोहन लामा रुम्बा

मजदुर आन्दोलनको बेला ल्होत्से मलमा लुटपाट गर्दै गरेको बेला धन्न प्रहरीले (लुटेरालाई) गोली हानेनछ । यदि गोली हानेको भए यी तीनजना ठाउँको ठाउँ मर्ने थिए । यदि मरेको भए नेपालमा के हुन्छ होला, अहिलेसम्म भइरहेको के छ… भनेर यसो सोचेँ-

भोलिपल्ट मजदुर युनियनले लासमाथि रातो झण्डा ओढाएर शहीद घोषणा गरेपछि आर्यघाटतिर ऱ्याली गरेर नाराबाजी गर्दै पशुपतिघाटमा लैजान्थ्यो ।

त्यो ऱ्यालीमा लाग्ने नारा-

वीर शहीद-लाल सलाम ! लाल सलाम !!
संसारभरका मजदुर- एक हौँ ! एक हौँ !!
प्रहरी दमन- बन्द गर ! बन्द गर !!
हत्यारा प्रहरीलाई- कारवाही गर !
मृतक परिवारलाई- क्षतिपूर्ति दे !

भन्दै हजारौँको जुलुससहित आर्यघाटमा लासलाई पुऱ्याइन्थ्यो, फेरि त्यहाँ एकजना मजदुर युनियनको वरिष्ठ नेता आएर हँसिया हथौड़ा अङ्कित रातो झण्डा ओढाउँदै भाषण ठोक्थ्यो-

न्यायप्रेमी साथीहरू !

आज हाम्रो मजदुरको हकहितको लागि लड्दालड्दै तीन जना हाम्रा महान् मजदुर योद्धाहरूले सहादत प्राप्त गर्नुभयो, हाम्रो महान् नेता क. माओत्सेतुङले भन्नुभएको थियो… आजसम्मको सम्पुर्ण मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । त्यसैले साथीहरू यो वर्गीय युद्धमा हामीले गुमाउनुपर्ने केही छैन ।

साथीहरू !

यो वीभत्स नरसंहार काण्डमा इण्डो-पश्चिमा सिआईएको प्रत्यक्ष संलग्नत रहेकोे देखिन्छ, किनभने इतिहासको संयोग हेर्नुस्.. अमेरिकी पुँजीवादी साम्राज्यवादी सरकारले आजभन्दा १३७ वर्षअगाडि सन् ४ मे १८८६ मा सिकागोको ‘हे मार्केट’ भन्ने स्थानमा यसैगरी मजदुरहरूमाथि प्रहरी प्रयोग गरेर सामुहिक नरसंहार गरेको थियो भने आज यहाँनेर पनि ल्होत्से भन्ने मार्केटमा नै प्रहरीले मजदुरहरूको सामुहिक नरसंहार गरेको छ ! अमेरिकाको मार्केटमा पनि प्रहरीले मजदुरको सामुहिक हत्या गर्नु यहाँनेर पनि मार्केटमै प्रहरीले सामुहिक हत्या गर्नु, के यो संयोग मात्रै हो त ?

त्यहीमाथि भर्खरै अमेरिकी उप विदेशमन्त्री नेपाल आएर जानु, त्यसलगत्तै संशोधनवादी गद्दार प्रचण्डले पार्टीको नामबाट अबदेखि माओत्सेतुङको नाउँ हटाउने निर्णय गर्नु, त्यसको लगत्तै निरपराध मजदुरहरूको हत्या हुनुले ठाडै भन्न सक्छौँ- पक्कै यहाँनेर इण्डो-पश्चिमा ‘र’/‘सिआईए’को सुनियोजित षड्यन्त्रमा हत्या भएको हो भनेर हामीले भन्न सक्छौँ कि सक्दैनौँ ?
अनि तलतिरबाट सामुहिक स्वरमा ठूलो आवाज आउँछ- ‘षड्यन्त्र हो ! षड्यन्त्र हो !!’

फेरि नेताले भन्न सुरु गर्छ, ‘त्यसैले साथीहरू अब हामीले शोकलाई शक्तिमा बदलेर हाम्रा शहीद योद्धाहरूले देखाएको मार्गमा अविचलित भएर अगाडि बढ्नुको विकल्प छैन । त्यसैले एक मरे दुई जन्मिनुपर्छ दुई मरे चार, चार मरे आठ गर्दै शोषक सामन्त साम्राज्यवादी दलालहरूको किल्ला हल्लाउनुपर्छ साथीहरू ! तपाईंहरू कत्तिपनि विचलित नहुनुहोस् ! हामी तपाईंहरूको साथमा छौँ !’ भन्दै भाषणको अन्त्य गरी मजदुर नेता चिल्लो कारमा चढेर घर फर्किन्छ र, नारा लगाउँदै प्लेकार्ड बोकेर आउनेहरू टेम्पो/साझाबसमा ठेलमठेल गर्दै घर फर्किन्छ… !