✍ पीए हिमालय
दुई वर्षपहिले अर्थात् ०७७ सालमा देशव्यापी रूपमा राजसंस्था पुनःस्थापनाको लागि आन्दोलन भयो । सायद ०६३ को आन्दोलनपछिको हालसम्मकै ठुलो आन्दोलन थियो त्यो । पूर्व मेचीदेखि पश्चिम महाकाली हुँदै देशका मुख्य-मुख्य शहरमा आन्दोलन भए । काठमाडौं माइतीघरदेखि बानेश्वरसम्म हजारौँ युवाहरूको गर्जनले ‘गणतन्त्र धोका हो’, ‘चाहियो चाहियो राजा चाहियो’ र ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए । विशुद्ध युवाहरूले नेतृत्व गरेको सो आन्दोलनले तत्कालिन समयमा ठोस उपलब्धि त केही हात पारेन तर राजसंस्था पुनःस्थापनाको मुद्धालाई पुनर्जीवित गरिदियो । बहुसंख्यक जनता यस मुद्धाप्रति आस्थान्वित भएतापनि संगठित रूपमा बलियो दल वा संगठन थिएन । तर युवाहरूको त्यो आन्दोलनले भविष्यमा १२ बुँदेको परिवर्तन उल्ट्याउन सक्ने सम्भावनालाई प्रमाणित गरिदियो ।
अहिले यतिबेला पुनः देशव्यापी रुपमा राजसंस्था पुनःस्थापनाको लागि आन्दोलन भइरहेको छ । युवाहरू देशका विभिन्न स्थानबाट सडक आन्दोलन गरिरहेका छन् । शासन व्यवस्था र संविधानमाथि प्रश्न गरिरहेका छन् । गत माघ २९ गते कपिलवस्तुबाट आन्दोलन शुरुवात भयो । मकवानपुरको हेटौँडा हुँदै वीरगञ्जमा विशाल जुलुससहित आन्दोलन भयो । युवाहरूले छातीमा राजारानीको तस्बिर अङ्कित टिसर्ट लगाएका छन्, ‘राजा आऊ देश बचाउ’ भन्ने नारा लगाइरहेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका सन्तोष भन्छन्- ‘१२बुँदेको परिवर्तनमा जनता दुरुपयोग हुन पुगे, तत्कालिन समयमा कतै माग नगरिएको विषयहरू जबर्जस्ती लादियो यसको हिसाब जनताले अवश्य गर्नेछन् ।’ राजसंस्था छिट्टै पुनःस्थापना हुनेमा ऊनी ढुक्क छन्, छातीमा राजाको चित्रको ट्याटु समेत कोरेका सन्तोष आफूलाई कट्टर राजावादी ठान्छन् ।

नेपाल धर्म-सांस्कृतिको विशिष्ट पहिचानयुक्त देश भएकोले राष्ट्रप्रमुखको रुपमा राजसंस्था (राजा), धर्मसापेक्षता र प्रजातन्त्रको विकल्प नभएको ठान्छन् ऊनी । दुई ठुला देश चीन र भारतको बीचमा अवस्थित नेपाल छिमेक र विश्वका शक्तिराष्ट्रको तीनध्रुवीय रणनैतिक चेपुवाबाट बच्दै स्वतन्त्र, सार्वभौम राष्ट्रको रुपमा चीरस्थायी कालसम्म रहिरहन शाहवंशीय राजसंस्था नै अपरिहार्य भएको बताउँछन् । ‘देशमा स्वस्थ प्रजातान्त्रिक अभ्यास होस्, सबै धार्मिक सांस्कृतिक धरोहरहरूको संरक्षण, संबर्धन र प्रवर्द्र्धन होस्, वैदेशिक हस्तक्षेप नहोस्, आर्थिक समृद्धि होस्, युवा खाडीमा बेचिन नपरोस्, हामीले चाहेको यत्ति हो’, उनी थप्छन् ।
अर्का युवा अभियान्ता तारानाथ नौपाने भन्छन्- ‘नेताहरू पटक-पटक संविधान र व्यवस्था खतरामा छ भन्छन्, राजाले सानो वक्तव्य दिँदा पनि तरंगित हुन्छन्, यसको मतलव राजसंस्था पुनःस्थापनाको विकल्प छैन भन्ने प्रष्ट हो । वीरगञ्ज चोकमा जम्मा भएका युवाहरूको एकै स्वर छ- ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ।’
ठुला दलका केही शीर्ष नेताहरू समेतले पनि १२ बुँदेको आन्दोलनको माग अहिलेको जस्तो परिवर्तन नभएको स्वीकारेका छन् । जनतामा चरम निराशा छ, राज्यप्रणालीप्रति असन्तुष्टि व्याप्त छ । ०६५ सालमा राजालाई जन्मदिनको अवशरमा शुभकामना दिन गएका नागरिकहरूलाई वाइसीएलले कुट्थे, अहिले हजारौँ र लाखौँ जनता स्वस्फुर्त रुपमा राजसंस्थाको पक्षमा उभिएका छन् । वर्तमान राज्य व्यवस्थाको मुखिया दावी गर्ने माओवादीको जनामत निरन्तर घट्दै छ । दल र नेताहरू विदेशीद्वारा परिचालित भएको कुरा सबैले स्वीकारेकै छन् । युवाहरूको आक्रोश बढ्दो छ, व्यवस्था बिरोधि जनबल बलियो हुँदै गएको छ । ठुला दलले आत्मसमीक्षा गर्दै वृहत्तर राष्ट्रिय हित र जनभावनाको कदर गर्ने अठोट लिइ अगाडि बढेमा नेपालमा पुनः एकपटक राजनैतिक परिवर्तन सम्भव हुने देखिएको छ । प्रजातन्त्र दिवसको उपलक्षमा राजा ज्ञानेन्द्रले पनि दलहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । यसले पनि राजनीतिक समस्या निकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिन सकिन्छ ।
प्रतिक्रिया