कहाँबाट ल्याइँदै छ वाईसीएललाई पैसा ?

कहाँबाट ल्याइँदै छ वाईसीएललाई पैसा ?


एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले उद्योगी तथा सर्वसाधारणबाट चन्दा उठाएर पार्टीको भ्रातृ सङ्गठन वाईसीएललाई प्याकेजमा आर्थिक सहयोग गर्ने तयारी गर्नुभएको छ । उक्त तयारीस्वरूप दाहालले निकटस्थ नेताहरूको सहयोगमा पार्टीलाई आर्थिक सहयोग गर्न सक्ने व्यक्ति, उद्योगी तथा अनुमानित सहयोग रकमको विवरण तयारीमा जुट्नुभएको बुझिएको छ ।
प्रचण्डनिकट उच्च श्रोतका अनुसार यसका लागि प्रचण्डले दुई उद्योगी र दुई केन्द्रीय नेताको सहयोग लिनुभएको छ । चारजनाको गोप्य टोलीले केही दिनभित्रै लिखित सुझाव बुझाउने र उक्त सुझावका आधारमा रकम सङ्कलन अभियान अगाडि बढाइने तयारी भएको छ । तर, अहिले नै कति रकम सङ्कलन हुन्छ र लडाकुले कति पाउन सक्छन् भन्ने केही खुलाएको छैन । यद्यपि गत २४ माघमा बसेको पार्टी स्थायी समिति बैठकले वाईसीएललाई शिविरमा रहेका लडाकुले पाएसरह सुविधा उपलब्ध गराउने निर्णय गरिसकेको छ । उक्त निर्णयका आधारमा प्रतिव्यक्ति पाँच लाखका दरले मात्र दिने हो भने पनि ३५ सय लडाकुका लागि एक अर्ब ७५ करोड रकम छुट्याउनुपर्द । तर, प्रचण्डनिकट स्रोतका अनुसार कति रकम सङ्कलन हुन्छ त्यसका आधारमा वाईसीएललाई साढे दुईदेखि तीन लाखसम्मका दरले रकम दिन सकिने मनस्थितिमा दाहाल छन् । यदि तीन लाखका दरले मात्र रकम दिने हो भने कम्तीमा पनि एक अर्ब पाँच करोड रुपैयाँ आवश्यक पर्न जान्छ ।
पार्टीका सबैसँगको परामर्शमा आर्थिक सङ्कलन गर्दा सङ्कलित रकममा विवाद आउने देखेर प्रचण्डले गोप्य रूपमा आर्थिक सङ्कलनका टिम बनाएर परिचालन गर्ने अभियानमा लागेको श्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यसरी गोप्य रूपमा लाग्दा सबै हिसाबकिताब पार्टीलाई देखाउनुपर्दैन र रकम उठाएको विषयमा विवाद पनि कम हुने भएकाले निकटस्थसँग गोप्य अभियानमा लाग्नुभएको हुनसक्छ । पार्टीमा प्रचण्डइतर नेताहरूले भने, नेतृत्वले आर्थिक हिनामिना गरेको भन्दै बारम्बार आवाज उठाउँदै आएका छन् ।
पार्टी कोषमा प्रसस्तै रकम भए पनि अध्यक्ष प्रचण्डले गत स्थायी समिति बैठकमा पार्टीसँग वाईसीएललाई दिन पुग्ने रकम नभएकोले चन्दा उठाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभएको थियो । तर, बैठकमा उपाध्यक्ष वैद्य, देव गुरुङलगायतका नेताले उक्त रकम पार्टीकोषबाटै दिनुपर्ने र कोषमा पर्याप्त रकम हुनुपर्ने भन्दै कोषको हिसाब सार्वजनिक गरेपछि मात्र वैकल्पिक स्रोतबारे छलफल गर्न सकिने अडान राखेका छन् । त्यसपछि प्रचण्डले चन्दा उठाउने कुरा बीचैमा स्थगित गर्नुभएको थियो ।
एमाओवादी केन्द्रीय युवा नेता नेत्रविक्रम चन्द वाईसीएललाई दिने रकम पार्टी नेतृत्वसँग रहेको दाबी गर्नुहुन्छ । चन्दले सोमबार साँझ घटना र विचारसँग भन्नुभयो, ‘तपाईं पैसाको चिन्ता नगर्नुहोस्, पार्टी नेतृत्वसँग टन्नै पैसा छ, त्यहीँबाट वाईसीएललाई दिने हो ।’ तर, नेता चन्दले उक्त पैसा कहाँ र कसको नाममा छ भन्नेचाहिँ खुलाउनुभएन । उहाँले थप्नुभयो, ‘तपाईंले यति मात्र बुझ्नु, पार्टी नेतृत्वले चाहेमा केही दिनबाटै रकम वितरण गर्न सक्छ ।’ नेता चन्दले पीएलबाट मासिक एक हजारका दरले उठाइएको रकम मात्र पार्टी नेतृत्वसँग झण्डै ९४ करोड रकम हुनुपर्द, त्यस्तै वाईसीएलकै नाममा विभिन्न व्यक्ति तथा व्यापारीहरूबाट उठाएको रकम पनि प्रसस्तै रहेको चन्दको भनाइ छ । चन्दको भनाइअनुसार शिविर छाडेका झण्डै पाँच हजार लडाकुको मासिक तलब पनि पार्टीले बुझ्दै आएकोले त्यो रकम पनि वाईसीएलकै लागि खर्च हुनुपर्द । त्यो रकम पनि जोड्ने हो भने एक अर्बभन्दा बढी हुन आउँछ । ‘पार्टीले वाईसीएलका नाममा अर्बौं जम्मा गरेको छ, हामीले त्यही रकम बाँड्ने भनेका मात्र हौँ,’ पुनको भनाइ थियो । वाईसीएलका संयोजक गणेशमान पुन ‘रश्मी’ पनि पार्टी कोषमा उक्त रकम रहेको र पार्टीले चाहेमा दिन सक्ने बताउनुहुन्छ । संयोजक रश्मीको भनाइ थियो, ‘वाईसीएललाई सबै रकम एकमुष्ट दिनुपर्दैन, किस्ताकिस्तामा दिए हुन्छ, तर, दिनुपर्‍यो ।’
माओवादीले निर्वाचन आयोगमा हालै बुझाएको पार्टीको वार्षिक आयव्यय प्रतिवेदनअनुसार उसले चार (०५६ देखि ०६८) आर्थिक वर्षमा जम्मा ३३ करोड मात्र आम्दानी गरेको देखाएको छ भने ३६ करोडभन्दा बढी रकम खर्च भएको देखाएको छ । उसले यो रकम पनि सदस्यता नवीकरण, समर्थकबाट प्राप्त चन्दा, सदस्यता शुल्क, पार्टी सदस्य तथा सभासद्को लेबी, सभा-सम्मेलनलाई लक्षित गरी गरिएको विभिन्न प्रकाशन, चन्दा प्रमुख रहेको उल्लेख छ । यदि यही प्रतिवेदनलाई आधिकारिक मान्ने हो, एमाओवादी तीन करोड घाटामा छ । तीन करोड घाटामा रहेको पार्टीसँग वाईसीएललाई दिनका लागि आवश्यक पर्ने यति धेरै रकम छ भन्न सकिन्न । तर, माओवादीसँग पैसा छैन भनेर पत्याउन सकिने स्थिति पनि छैन ।