उच्च अदालतको आदेशसँगै कलाकार पल शाह जेलमुक्त हुँदै

उच्च अदालतको आदेशसँगै कलाकार पल शाह जेलमुक्त हुँदै


जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दाबी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

उनका कानुनव्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार शाहले मुद्दा जितेका छन्, भोलि सोमबार उनी रिहा हुनेछन् ।

ज्ञातव्य छ, नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।