प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार दोहा प्रस्थान गर्दै

प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार दोहा प्रस्थान गर्दै


प्रधानमन्त्री प्रचण्ड कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुनुहुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्ड साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने बताइएको छ ।

दोहामा रहँदा प्रधानमन्त्री प्रचण्ड नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन् ।

एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री प्रचण्डले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने प्रवक्ता लम्सालले बताए । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।