विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए-४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको उजुरी परेको थियो ।
विमान चालकद्वारा परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेपछि प्राधिकरणले सो चालक दलका पाइलटलाई उडानमा रोक लगाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘विमान परिचारिकामाथि दुर्व्यवहार गरेका विषयमा उजुरी परेको छ, यस विषयमा सत्यतथ्य बुझ्न हामीले वायुसेवा निगमलाई खबर गरेका छौँ, छानविन नसकिञ्जेल त्यो उडानका पाइलटको उडानमा रोक लगाएका छौँ’, उनले भनेका छन् ।
उक्त उडानका सबै सदस्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारीसमेत गराइएको जनाएको छ । छानविन नसकिञ्जेलका लागि प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक नगर्ने जनाएको छ ।
प्रतिक्रिया