प्रचण्डको खेल हो या धोखाधडी ?

प्रचण्डको खेल हो या धोखाधडी ?


जसरी एक अति कामुक पुरुषका हृदयमा नाता, सम्बन्ध, सामाजिक प्रतिष्ठा, नैतिकता र कानूनको हेक्का रहँदैन, त्यसैगरी अति महत्वाकाङ्क्षी ब्यक्तिका सामु आफ्ना प्राप्ति भन्दा महत्वपूर्ण देश हुने गर्दैन र आमासमेत त्यस्ता मानिसका निम्ति प्राथमिकतामा पर्दैनन् । प्रचण्ड र बाबुरामले प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक सङ्घर्ष सुरु गरेयताका हरेक क्रियाकलापले अति महत्वकाङ्क्षी ब्यक्तिहरू अति खतरनाक हुन्छन् भन्ने सिद्ध गरेको छ ।

✍ देवप्रकाश त्रिपाठी

राजनीतिमा पदप्राप्ति मात्रलाई सफलता मानिँदैन, तर आम मानिसका दृष्टिमा पदप्राप्ति नै राजनीतिको सफलता हो । भारतका ख्यातिप्राप्त राजनीतिज्ञ डा. सुब्रह्मन्यम स्वामीको विचारमा राजनीतिमा त्यो ब्यक्ति सफल हो जो निरन्तर एकनास चर्चामा रहनसक्ने क्षमता राख्छ, पदप्राप्ति या अप्राप्ति सफलता र असफलताको मापदण्ड हुन सक्दैन । तथापि, नेपाल र नेपाल जस्तै चेतन तहको मानिस भएका मुलुकमा पदप्राप्तिमात्रलाई मात्र राजनीतिक सफलता ठानिन्छ । जबकि समृद्ध मुलुकमा सम्बद्ध ब्यक्तिले देशका निम्ति पुऱ्याएको योगदानका आधारमा उ सफल या असफल रहेको निष्कर्ष निकालिन्छ । डा. सुब्रह्मन्यम स्वामीको भनाइका आधारमा भन्नुपर्दा प्रचण्ड एक सफल राजनीतिकर्मी हुन्, किनकि उनी विगत तीन दशकदेखि एकछत्र चर्चामा छन् । कहिले विद्रोहीका रूपमा, कहिले अति क्रान्तिकारीका रूपमा, कहिले भारत जस्तो शक्तिशाली छिमेकीसँग लड्ने भन्दै सुरुङ खनेर चर्को राष्ट्रवादीका रूपमा, कहिले विदेशी हस्तक्षेपको आमन्त्रकका रूपमा त कहिले भ्रष्ट मतिको ब्यक्तिका रूपमा र कहिले धोखेबाजका रूपमा प्रचण्ड अविच्छिन्न चर्चामा छन् ।

प्रचण्ड चर्चामा रहनु या नरहनुले मुलुकको शान्ति, स्थिरता र समृद्धिलाई परिणामगत असर गर्दैन, उनी चर्चामा आउँदा देशको समस्या न्यून हुने र नआउँदा समस्या थपिने पनि होइन । बरु सत्य के हो भने अति महत्वाकाङ्क्षाले मानिसलाई कतिसम्म निर्लज्ज र नग्न तुल्याउन सक्छ भन्ने दृष्टान्तचाहिँ उनले स्थापित गरेका छन् । जसरी एक अति कामुक पुरुषका हृदयमा नाता, सम्बन्ध, सामाजिक प्रतिष्ठा, नैतिकता र कानूनको हेक्का रहँदैन, त्यसैगरी अति महत्वाकाङ्क्षी ब्यक्तिका सामु आफ्ना प्राप्ति भन्दा महत्वपूर्ण देश हुने गर्दैन र आमासमेत त्यस्ता मानिसका निम्ति प्राथमिकतामा पर्दैनन् । प्रचण्ड र बाबुरामले प्रजातान्त्रिक प्रणालीविरूद्ध हिंसात्मक सङ्घर्ष सुरु गरेयताका हरेक क्रियाकलापले अति महत्वकाङ्क्षी ब्यक्तिहरू अति खतरनाक हुन्छन् भन्ने सिद्ध गरेको छ । तीन दशकअघि त्यस्ता अति महत्वाकाङ्क्षी युवाका रूपमा यिनलाई लिइन्थ्यो, अहिले तिनकै श्रेणीका झण्डै आधी दर्जन अति महत्वाकाङ्क्षीहरू राजनीतिक सतहमा देखापरेका छन्, तर यिनै खतरनाक पात्रहरू आम मानिसका दृष्टिमा चाहिँ सुन्दर विकल्प ठहरिन पुगेका छन् !

प्रचण्ड अति महत्वाकाङ्क्षी मात्र होइनन्, नकारात्मक क्षमताका तीक्ष्ण (intelligent) ब्यक्ति पनि हुन् । उनको यही क्षमता सकारात्मक हुन्थ्यो भने देशले न हिंसात्मक विध्वङ्शको सामना गर्नुपर्ने हुन्थ्यो, न देशले यो स्तरको बर्बादी र बदनामी ब्यहोर्नुपर्ने थियो ! प्रचण्डले गत संसदीय निर्वाचन (२०७९ मङ्सिर) काङ्ग्रेससँग गठबन्धन बनाएर लडेको मात्र होइन, कम्तिमा आगामी बीस वर्षसम्म काङ्ग्रेस-माओवादी सहकार्यले निरन्तरता पाउने सार्वजनिक घोषणा पनि गरेका हुन् । तर चुनावपछि प्रचण्ड अचानक काङ्ग्रेस छोडेर केपीसँग सहकार्य गर्न पुग्दा सबैले उनी बेइमान र धोखेबाज भएको टिप्पणी गरेका थिए ! सरकार गठनको अढाइ महिना पनि नबित्दै प्रचण्ड पुरानै मोर्चाबन्दी पुनर्स्थापित गर्ने भूमिकामा देखापरे ! यसलाई उनका शुभचिन्तकहरूले ‘प्रचण्डको गतिशील ब्यक्तित्व’ भन्दै वन्दनीय कर्म ठानेका हुन सक्लान्, तर आम मानिसका दृष्टिमा प्रचण्ड बेइमानी र धोकाधडीको पर्याय बनेका छन् ।

शेरबहादुर देउवाले सङ्कटकाल घोषणा गरेर क्षति पुऱ्याएका कारण उनको हत्यासम्मको प्रयास गर्ने प्रचण्डहरूले चाहेका बेला देउवालाई पटक-पटक थाङ्नामा सुताउँदै आएका हुन् । गिरिजाप्रसाद र अन्य नेताहरूले पनि प्रचण्डहरूको धोकाधडीको सिकार अनेकौँ पटक बन्नु परेको हो, यसपटक केपी जस्ता चतुर नेतालाई पनि प्रचण्डले राम्रैसँग थाङ्नामा सुताइदिए । हामीजस्ता साधारण मानिसले हेर्दा यो केपीमाथिको धोका हो, तर प्रचण्ड र प्रचण्डहरूको विचारमा यो एउटा सामान्य खेल हो, प्रचण्डहरू राजनीतिमा क्रियाशील रहिन्जेल यस्ता ‘खेल’ सामान्य दैनिकीका रूपमा चलिरहने छन् ।

वास्तवमा प्रचण्ड आफ्ना अस्वाभाविक र अप्रत्याशित कर्मलाई नितान्त जायज र सुकर्म ठान्छन् । एउटा प्रधानमन्त्री पद पाउन हज्जारौँ निर्दोष नेपालीको ज्यान जाने गरी अवान्छित युद्धमा सामेल भएको र, बाह्य हस्तक्षेपका निम्ति आधारभूमि तयार गर्नसमेत पछि नपर्ने मान्छेले गत निर्वाचनपश्चात् प्रधानमन्त्री दाबी गर्न खोज्छन् र, खोजेपछि प्राप्तिका निम्ति जस्तोसुकै कदम चाल्न सक्छन् भन्ने नबुझ्नु काङ्ग्रेसको कमजोरी थियो । प्रचण्ड र कम्युनिष्टलाई बुझ्ने क्षमता अहिलेका काङ्ग्रेस नेताहरूमा थिएन, छैन । त्यसैले दुई महिनाअगाडि उनी प्रधानमन्त्री पदकै निम्ति शेरबहादुर देउवालाई धोका दिएर केपी ओलीसँग गठबन्धन गर्न पुगेका थिए भने अहिले केपीलाई छोडेर देउवातिर सर्नुको एकमात्र कारण पनि त्यही प्रधानमन्त्री पदको सूरक्षाकै निमित्त हो । प्रचण्डले यसरी कसैलाई झुक्क्याएको, छलेको या धोखाधडी गरेको यो पहिलो पटक होइन र, यही दुई पटक मात्र पनि होइन । यसप्रकारका छल र धोखाधडीलाई उनी सामान्य खेल ठान्छन् ।

मार्क्स नकारात्मक दिमागका भएपनि छलकपट र तिकडम गर्नुपर्ने अभ्यासमा उनी थिएनन्, तर लेनिन यति छली, जाली र झेली थिए कि उनको नेतृत्वमा सम्पन्न कथित क्रान्तिका सबै घटना छलकपटमा आधारित थिए । संसद् (ड्युमा) लाई क्रान्तिकारी उपयोग गर्ने अवधारणादेखि अक्टोबर क्रान्तिसम्मका सबै घटना छलकपटमा आधारित छन् । माओ त्से तुङले च्याङ काइ सेकसँग जुन सहमतिको नाटक रचे, त्यो नै एउटा गम्भीर धोका साबित भयो ! च्याङ काइ सेकले आफ्नो आत्मसंस्मरणमा जापानविरूद्ध लड्ने नाममा माओका गुरिल्लासँग राष्ट्रिय सेनाको सहकार्य गर्ने जुन सम्झौता गरियो, त्यो नै आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको स्पष्ट गरेका छन । माओको छलकपटको परिणामस्वरूप चीन कम्युनिष्टको हातमा पुगेको यथार्थलाई उनले आफ्नो संस्मरणमा बडो गम्भीरताका साथ उल्लेख गरेका छन् ।

प्रचण्ड अचानक काङ्ग्रेस छोडेर केपीसँग सहकार्य गर्न पुग्दा सबैले उनी बेइमान र धोखेबाज भएको टिप्पणी गरेका थिए ! सरकार गठनको अढाइ महिना पनि नबित्दै प्रचण्ड पुरानै मोर्चाबन्दी पुनर्स्थापित गर्ने भूमिकामा देखापरे ! यसलाई उनका शुभचिन्तकहरूले ‘प्रचण्डको गतिशील ब्यक्तित्व’ भन्दै वन्दनीय कर्म ठानेका हुन सक्लान्, तर आम मानिसका दृष्टिमा प्रचण्ड बेइमानी र धोकाधडीको पर्याय बनेका छन् ।

स्टालिनबाट भएका छलकपट र धोखाधडीको एउटा बेग्लै ‘महाभारत’ बन्नसक्छ । संसारभरीका कम्युनिष्ट आन्दोलनहरूको अध्ययन गरियो भने उनिहरू कसरी कलात्मक ढङ्गले छलकपट या तिकडम गर्न सक्छन् भन्ने कुराको रोचक जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैले प्रचण्डलाई मात्र धोखेबाज या जाली ठान्ने निष्कर्ष निकाल्नु उचित होइन । पञ्चायतको आखिरी समयतिर तत्कालीन नेकपा (चौम)का प्रतिनिधिसमेतलाई प्रज्ञा भवन कमलादीमा आयोजित पञ्च भेलामा आमन्त्रण गरिएको थियो । भूमिगत कम्युनिष्ट पार्टीका नेता उक्त भेलामा जान हुने कि नहुने ? जाँदा गिरफ्तार पो गरिने हो कि भन्ने जस्ता प्रश्न खडा हुँदा निर्मल लामाले भनेका थिए, प्रतिक्रियावादीहरूको एउटा गुण हुन्छ, ‘जेन्टलम्यान् एग्रीमेण्ट’लाई उनिहरू राम्रोसँग पालना गर्छन् । पक्राउ नै गरे पनि त्यसपछि कुनै तरिकाले गर्न सक्छन्, तर पञ्चभेलामा जाँदा या त्यहाँबाट फर्कने क्रममा चाहिँ गर्दैनन् । ‘हो, उनले यसो भनिरहँदा कम्युनिष्ट जस्तो जाली-झेली अर्को पक्ष हुँदैनन् भन्ने यथार्थको स्वीकारोक्ति भएको स्वतः बुझ्न सकिन्थ्यो । यसर्थ असली कम्युनिष्टले आफ्नो लक्ष्य (सत्ता) प्राप्त गर्न जस्तोसुकै निर्णय लिन हिचकिचाउँदैनन् भन्ने बुझ्न सक्नुपर्छ । प्रचण्डले आफ्ना अग्रजहरूले अवलम्बन गरेकै परम्परालाई निरन्तरता दिएका हुन् । अर्को पक्षलाई जतिपटक आफ्नो मायाजालमा पारेर च्याम्पटी घुमाए झैँ घुमाउन सकिन्छ त्यति नै आफू क्षमतावान क्रान्तिकारी कम्युनिष्ट भएको प्रमाणित हुन्छ भन्ने मनोदशाबाट अधिकाङ्श कम्युनिष्टहरू ग्रस्त हुन्छन्, प्रचण्ड तिनैमध्येका एक हुन् ।

२०५२ फागुनमा तत्कालीन दरबारियाको समेत साथ लिएर प्रजातन्त्रविरूद्ध हिंसासात्मक सङ्घर्षको अगुवाइ गर्ने प्रचण्डले सबैभन्दा ठूलो धोका पनि दरबारलाई नै दिएका हुन् । २०५८ सालमा गिरिजाप्रसादविरूद्ध प्रयोग भएका शेरबहादुर देउवालाई सहमति गरेर हिंसात्मक आन्दोलन टुङ्ग्याउने भन्दै युद्धविराम र वार्ताको नाटक मञ्चन गर्दै शक्ति सञ्चय भइसकेपछि वार्ता भङ्ग गरेर सैन्य ब्यारेकमा आक्रमण गर्नु पनि एउटा गम्भीर धोखाधडी नै थियो । ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति आफैमा एउटा कपटी अभ्यास थियो । शेरबहादुर देउवाले सङ्कटकाल घोषणा गरेर क्षति पुऱ्याएका कारण उनको हत्यासम्मको प्रयास गर्ने प्रचण्डहरूले चाहेका बेला देउवालाई पटक-पटक थाङ्नामा सुताउँदै आएका हुन् । गिरिजाप्रसाद र अन्य नेताहरूले पनि प्रचण्डहरूको धोकाधडीको सिकार अनेकौँ पटक बन्नु परेको हो, यसपटक केपी जस्ता चतुर नेतालाई पनि प्रचण्डले राम्रैसँग थाङ्नामा सुताइदिए । हामीजस्ता साधारण मानिसले हेर्दा यो केपीमाथिको धोका हो, तर प्रचण्ड र प्रचण्डहरूको विचारमा यो एउटा सामान्य खेल हो, प्रचण्डहरू राजनीतिमा क्रियाशील रहिन्जेल यस्ता ‘खेल’ सामान्य दैनिकीका रूपमा चलिरहने छन्, जय मातृभूमि !