नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
सैनिक हिरासतमा रहेका कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले दुई दिनअघि आफ्नै हिरासतमा लिएको थियो ।
शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो ।
उनीहरूसँगै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ । सेनाले उनीहरू दुवैलाई आर्थिक अनियमितताको आरोप लगाएको छ। तर पारिवारिक स्रोतका अनुसार उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप छ।
यसअघि यस्तै एउटा आरोपमा सेनाका जनरल प्रेम शाहीलाई सेनाले दुई महिनादेखि हिरासतमा राखिरहेको छ । उनको बारेमा समेत सेनाले परिवारलाई कुनै जानकारी नदिएको बताइएको छ ।
सैन्यस्रोतका अनुसार जनरल शाहीलाई सघाएको आरोपमा यी दुई अधिकृतहरूलाई पनि सेनाले हिरासतमा राखेको हो।
प्रतिक्रिया