लन्डन । हिन्दूहरुको महान चाड़को रुपमा तिहारको पनि बिशेष महत्व रहेको हुन्छ । कार्त्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारबाट प्रारम्भ भई कार्त्तिक शुक्लपक्ष व्दीतियाया तिथिको भाइटीका सम्मको पाँच दिनलाई तिहारको रुपमा मनाउने गरिन्छ । परापूर्व कालदेखि मनाउँदै आएको यस पर्वको आफ्नै किसिमको विशेषता र महत्व रहेको पाइन्छ । कृषि प्रधान देशको रुपमा परिचित हाम्रो मुलुकमा पशुपन्छीहरुलाई पूजा गर्ने परम्पराले तिनीहरुप्रति गरिने सद्भावनालाई पनि प्रष्ट परेको देखिन्छ । त्यत्ति मात्र नभएर चेली र माइतीबीचको सम्बन्धलाक्षर््समेत अमर र अटल बनाउने प्रयास गर्दै आएकोछ यो तिहारले ।
हिजोआज स्वदेशमा मात्र नभएर परदेशमा पनि धुमधामका साथ तिहारलाई मनाउने गरेको पाइन्छ । धार्मिक आस्था होस् या सामाजिक परम्परा अर्थात् देखासिखी नै किन नहोस् घरघरमा झिलिमिली पारेर रमाइलोसँग तिहारको पर्वसँग प्राय सबैजना रमाएको प्रशस्त मात्रामा देख्न सकिन्छ । बेलायतको परिप्रेक्ष्यमा हेर्ने हो भने यहाँ छुट्टै किसिमको विशेषता रहेको पाइन्छ, विशेषगरी भारतीयहरुको बाहुल्यता रहेको इलाकाहरुमा तिहार शुरु हुनु अघिदेखि नै पटका पट्काएर रातभर जस्तो नै रमाइलो गर्ने गर्दछन् । यहाँ बस्ने नेपाली समुदायमा पनि अपवादबाहेक प्राय सबैले तिहारलाई स्वागत गरेको पाइन्छ । प्राय सुनसान जस्तो रहने यहाँका नेपाली पशलहरुमा पनि घुइंचो लागेको हुन्छ । नेपाली ढाका टोपी, मखमली फूलको माला तथा लक्ष्मी पूजा र भाइटीकामा प्रयोग हुने सामग्रीहरु प्रशस्त मात्रामा बिक्रि हुने गर्दछन् । कतिपय पशलहरुमा त भाइटीकाको दिन बन्द गरिने सूचनासमेत टाँसिएको देख्न सकिन्छ । तेस्तैगरी भारतीय मिठाई पशालहरूमा पनि तिहारको शुरुवातसंगै घुइंचो लाग्ने गर्दछ, मिठाईका विभिन्न परिकारहरुले सजिसजाउ गरेर ग्राहकहरुलाई आकर्षण गरिरहेका हुन्छन् भने ग्राहकहरुको लामो लाइन लागिरहेको पनि प्रशस्त देख्न सकिन्छ । बेलायतबासी नेपालीहरुको परिवेशमा भन्ने हो भने चाडपर्व मनाउने बिषयमा निकै नै उदार रहेको पाइन्छ, विभिन्न सामाजिक क्रियाकलापदेखि लिएर अंग्रेजी, नेपाली तथा चाइनिज उत्सवहरुलाई समेत साथ दिइरहेका हुन्छन् यहाँका नेपालीहरुले । आफ्नो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्नु तथा भावी पुस्तामाझमा पनि निरन्तरता दिलाउनु हाम्रो परम कर्तव्य हुन जान्छ, तर कतिपय क्रियाकलापहरु भने देखावटी र प्रतिस्पर्धाको रुपमा पनि गरिएको पाइन्छ । उदाहरणको लागि तिहारको लागि तयारी गर्दै एउटा घरमा जिज्ञासा राख्नखोज्दा, ‘फेसबुकमा हेर्दा पनि अहा ! भन्ने हुनुपर्यो नि !’ भन्ने जवाफ आएको थियो । यसरी हेर्दा चाडपर्व इत्यादिमा गरिने तडबधडकमा अहिलेको सामाजिक संजालको पनि निकै ठूलो प्रभाव रहेको पाइन्छ । तर यस किसिमको देखावटि प्रवृतिले फाइदा भन्दा बेफाइदा नै बढी हुने गर्दछ, तसर्थ सकारात्मक पक्षलाई अबलम्बन गर्दै लैजाने र घाँटी हेरी हाड़ निल्ने हो भने पक्कै पनि हामी, हाम्रो समाज र हाम्रा भावी पुस्तामा पनि निरन्तरता दिने हौसला मिल्नेछ र हाम्रो संस्कृति र परम्पराको पनि जगेर्ना हुँदै जानेछ ।


प्रतिक्रिया