आत्महत्याको कारण खोजौँ

आत्महत्याको कारण खोजौँ


समयक्रममा सोसियल मिडिया र प्रविधि पनि आत्महत्याको कारण बन्दैछ, बनिरहेको छ । तर हामीकहाँ आत्महत्याबारे अनुसन्धान नभएकाले यसैले गर्दा हो भन्न सक्ने अवस्था भने छैन । त्यसैले यसमा गहिरो अनुसन्धान आवश्यक छ ।

✍ बबिता बस्नेत

विगत केही समययता हामीकहाँ आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ । कोही सडकमै जलेर, कसैले घरको कौसीबाट हाम फालेर, बिष सेवन गरेर, झुण्डिए जे-जे माध्यम अपनाए पनि जिउँदा-जाग्दा मान्छेहरूले जीवन समाप्त गरिरहेका छन् । सरसाउँदो मान्छेले मृत्यु रोज्नु सानो कुरा होइन तर हामीकहाँ मर्ने मरिरहेको छ, के भयो त उसैको समस्या झैँ गरेर यो विषयमा खासै चर्चा हुने गरेको छैन । प्रेम आचार्यले बीचसडकमा प्रधानमन्त्रीको गाडीअगाडि ज्युँदै जल्दा तातेको सामाजिक सञ्जालमा यो मुद्दा दुई दिन भन्दा बढी टिक्न सकेन । अन्य विषयहरूमा जस्तै यस्ता संवेदनशील कुरालाई पनि हामी केही दिन चर्चामा ल्याइ चट्ट छोडेर फड्को मारिरहेका छौँ । आत्महत्याले बढ्दो रूप लिइरहेकाले यसको कारण खोज्न र त्यसबाट मुक्ति दिलाउनका सरकारले कदम चाल्नु आवश्यक छ ।

पछिल्लो आँकडालाई हेर्दा धेरैजसो मानिसहरूले मुलतः दुई कारणले आत्महत्या गरेको देखिन्छ, आर्थिक अभाव र सम्बन्धमा समस्या । यी दुई कुराले धेरै मानिसको ज्यान लिएको छ । नेपालमा आत्महत्याको कारणका बारेमा अनुसन्धान गर्ने कानून थिएन । अहिले मुलुकी संहिताले आत्महत्या दुरुत्सानका लागि भनेर कानून ल्यायो जसअनुरुप दोषी प्रमाणित भएमा पँच वर्षसम्म जेल सजाय हुन सक्छ । कानून आफैमा नराम्रो छैन तर यसको अभ्यासमा बदलाको भावना भयो भने निर्दोष मानिस फस्ने सम्भावना पनि त्यत्तिकै छ । कानूनको प्रयोग कसैलाई फसाउन नभएर पीडितलाई न्याय दिनका लागि हुनुपर्छ । अहिले सामाजिक सञ्जाल र प्रविधिले मानिसलाई जरुक्क उठ्दै रिसले मुर्मुरिँदै उठ्ने बनाइरहेको छ । ओछ्यानमै बसेर फेसबुक, ट्वीटर, युटुबलगायतका सोसियल मिडिया हेरेर मुस्कुराउने भन्दा इरिटेट हुने नै बढी देखिन्छन्, भेटिन्छन् । समयक्रममा सोसियल मिडिया र प्रविधि पनि आत्महत्याको कारण बन्दैछ, बनिरहेको छ । तर हामीकहाँ आत्महत्याबारे अनुसन्धान नभएकाले यसैले गर्दा हो भन्न सक्ने अवस्था भने छैन । त्यसैले यसमा गहिरो अनुसन्धान आवश्यक छ ।

यदि मृत्यु नहुँदो हो त मानव बस्ती कस्तो हुने थियो होला ? अनुमान मात्र गर्न सकिन्छ । मृत्युबिनाको जीवन कल्पना मात्र गर्दा पनि कुरुप घना बस्ती आँखाअगाडि आउँछ । मैले एक दिन मर्नुपर्छ भन्ने जानकारी हुँदा त मानिसहरूबीच तँछाडमँछाड यस्तो छ, मर्नै नपर्ने भए त झन् के हुन्थ्यो होला ? हरेक मानिसको जीवनमा मृत्यु अपरिहार्य छ त्यसैले त मृत्युलाई जिन्दगीको अन्तिम सत्य पनि भनिन्छ । अघि-पछिको कुरा हो, मृत्युले कसैलाई छोड्दैन । मृत्यु निश्चित हुँदाहुँदै पनि कहिले हुन्छ भन्ने अनिश्चित भएकाले ज्युँदो-जाग्दो अवस्थामै मरुँ भन्ने सोच राख्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । जीवनदेखि हैरान भएर आत्महत्या गर्नेहरूको सङ्ख्या हामीकहाँ दिन-प्रतिदिन बढिरहेको छ । हामीकहाँ मात्र होइन आत्महत्या विश्वब्यापी रूपमै बढ्दै गएको तथ्याङ्कहरूले देखाएका छन् ।

आत्महत्यालाई पनि महिलामाथि हुने हिंसालाई झैँ विश्वब्यापी आश्चर्यको रूपमा लिने गरिएको छ । यो जता पनि छ, धनी, गरिब, शिक्षित, अशिक्षित, कुनै पनि जात, क्षेत्र, वर्ग, समूदाय, जहाँ पनि र कुनै पनि बेला । युरोप, अमेरिका, एशिया, दक्षिण एशिया सबैतिर नै आत्महत्याका घटना बढिरहेका छन् । आश्चर्यजनक कुरा त के छ भने विश्वको खुशीको सूचीमा एशियामै पहिलो नम्बरमा रहेको भुटानमा समेत यो वर्ष आत्महत्या बढेको देखिएको छ । आर्थिक रूपले सम्पन्न मानिने फिनल्याण्ड, नर्वे, डेनमार्कमा आत्महत्याको ग्राफ बढ्दो छ । आत्महत्या किन हुन्छ ? किन बढिरहेको छ ? भनेर विश्वमा धेरै अनुसन्धानहरू भएका छन् । ती रिसर्चहरूले यसैकारणले हो भन्ने स्पष्ट निक्र्यौल भने निकाल्न सकेका छैनन् । तर एक पल्ट आत्महत्या गर्न खोजेको ब्यक्तिले फेरि पनि कोशिस गर्ने गरेको भेटिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा युनिभर्सिटीहरूले आत्महत्यालाई लिएर रिसर्च गरेका छन् । रिसर्चका क्रममा ‘डिप्रेशन’ आत्महत्याको मुख्य कारण भेटिएको छ । डिप्रेशन के कारणले हुन्छ त ? भन्दा डिप्रेशनको मुख्य कारण तनावलाई मानिएको छ । जीवनमा गढेर रहेको पुरानो घाउ, जस्तै- यौनहिंसा, बलात्कार, युद्धको दृष्य देखेकाहरू, युद्धमा आँखैअगाडि बाबुआमा या छोरा छोरीको मृत्यु ब्यहोरेकाहरू, लागुऔषध, मदिरा, सम्बन्धमा खटपट, आर्थिक लेनदेन या गरिबीलगायतका कुराले मानिसलाई डिप्रेशनतर्फ धकेल्छ । यी विविध कारणले जीवनमा आशा हराउँदै गएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

मानवीय आकाङ्क्षाहरूको ब्यवस्थापन गर्न त्यति सहज छैन । गौतम बुद्धले आफ्ना चेलाहरूलाई सन्यास लिने बेलामा तीन महिना घाटमा बस्न लगाउनुहुन्थ्यो रे । तीन महिनासम्म मानिसका लाशहरू हेरेर, चितामा लाश जलेको देखेर जीवनको सत्य थाहा पाउन भनी उनीहरूलाई त्यसरी घाटमा पठाइने गरिन्थ्यो ।

कतिपय मानिसहरू भन्छन्, आत्महत्याको कारण गरिवी हो तर अध्ययनले गरिबभन्दा धनी मुलुकहरूमा बढी आत्महत्या हुने गरेको देखाएको छ । सन् २००७ मा नर्वे गएका बेला एक जना साथीले यो पङ्क्तिकारलाई साँझको खानामा बोलाएका थिए । उनकी पत्नी त्याहाँ हेल्थ म्यागेजिनकी सम्पादक रहिछन् । उनले हातमा दिएको मोटो साप्ताहिक पत्रिका पल्टाउदै मैले यस्तो पत्रिका चलाउँदा तपाईंहरूलाई आइपर्ने समस्या के हो ? भनेर सोधेँ । उनले हामीकहाँ यति धेरै विज्ञापन आउँछ कि सबै विज्ञापन हामी छाप्न सक्दैनौँ, विज्ञापनको ब्यवस्थापन नै हाम्रो समस्या हो भनिन् । यता पत्रिकाका लागि विज्ञापन नपाएर आर्थिक समस्या भोगिरहेका हाम्रा लागि त्यो रोचक समस्या थियो । नर्वेजियन भाषाको पत्रिका हेर्दै मैले भनेँ- ‘खास विज्ञापनचाहिँ केको आउँछ नि ?’ उनले भनिन्- ‘डिप्रेशनको औषधिको ।’

डिप्रेशनका रोगी बढेसँगै नर्वेमा डिप्रेसनका औषधी उद्योगहरू धमाधम खुल्न थालेछन् । औषधि उत्पादन गरेपछि त्यहाँ अखबारमा विज्ञापन छपाएर तिनका राम्रा र नराम्रा पक्षका बारेमा सर्वसाधारणलाई जानकारी दिनुपर्ने सरकारी नियम रहेछ । औषधि केले बनेको छ, कसरी काम गर्छ र यसका साइडइफेक्टहरू के-के हुन जस्ता कुराहरू जनताको सूचनाको हकअन्तर्गत पर्दारहेछन् । त्यसैले कम्पनीहरूले आफ्नो उत्पादनहरूको विज्ञापन अनिवार्य रूपले गर्नु पर्दोरहेछ । नर्वेमा मानिसलाई यति धेरै डिप्रेशनचाहिँ किन भएको भनेर सोधेकी थिएँ, उनले आर्थिक समस्या छैन, सबै कुरा पुगेको छ, त्यसैले रिलेशनसीपलगायतका समस्या बढेकाछन् भनिन् । त्यसपछि मलाई ओहो जिन्दगी धान्नका लागि दौडधुप गर्दा गर्दै अरु कुरा सोच्नै नपाउने हाम्रै अवस्था ठिक भन्ने लागेको थियो ।

अशिक्षितमा भन्दा शिक्षितमा यो सङ्ख्या बढी छ । मानिसको जीवन सपनाहरूले भरिएको हुन्छ । यो गरुँ, त्यो गरुँ, यहाँ पछि त्याहाँ जाउँ, यति भएपछि अब मलाई पुग्यो भन्ने मानिसहरू कमै देखिएका, भेटिएका छन् । चाहे त्यो पैसाका सन्दर्भमा होस् या नाम वा पदका सन्दर्भमा । पैसा नहुँदा मसँग पैसा भएहुन्थ्यो जस्तो लाग्ने र पैसा भएपछि नाम-सम्मान चाहिने सायद मानवीय प्रवृत्ति नै हो । ठुला-ठुला ब्यापारीहरूको मिडियामा लगानी या राजनीति प्रवेशको कारण यही नाम, मान-सम्मानको चाहनासँग जोडिएको छ । मानवीय आकाङ्क्षाहरूको ब्यवस्थापन गर्न त्यति सहज छैन । गौतम बुद्धले आफ्ना चेलाहरूलाई सन्यास लिने बेलामा तीन महिना घाटमा बस्न लगाउनुहुन्थ्यो रे । तीन महिनासम्म मानिसका लाशहरू हेरेर, चितामा लाश जलेको देखेर जीवनको सत्य थाहा पाउन भनी उनीहरूलाई त्यसरी घाटमा पठाइने गरिन्थ्यो । तीन महिनासम्म घाटमा बसेर महत्वकाङ्क्षा शुन्यमा झरेपछि बल्ल उनीहरू सन्यास लिनका लागि योग्य हुन्थे रे । महत्वकाङ्क्षा र जीवनको वास्तविकताबीच ठुलो अन्तर छ ।

धेरैजसो घटनामा आफ्ना महत्वकाङ्क्षाको ब्यवस्थापन गर्न नसकेर मानिसले आत्महत्या गरेका छन् । आफूवरिपरिको वातावरण जब सही लाग्न छोड्छ त्यसपछि मानिसमा विरक्ति छाउने गर्छ । जीवनको कुनै न कुनै मोडमा आत्महत्या गरुँ कि के हो भन्ने सोच आउँछ भनिन्छ । मानिस हो, सोचहरू अनेक आउँछन्, कहिलेकाहीँ त्यसैपनि जिन्दगी बिसर्जन गरुँ-गरुँ जस्तो हुन्छ । सम्हाल्ने त आफूले आफैलाई नै हो । आफूले आफैलाई सम्हाल्नु जिन्दगीमा ठुलो कुरा हो । आफूले आफैलाई अन्त्य गर्ने कुरालाई आत्महत्या नाम दिइएपनि आत्माको मात्र नभएर शरीरको पनि हत्या हुने गर्छ । आत्महत्या र बाँच्ने चाहनाबीचको अन्तरविरोध चाहिँ के हो भने मानिसमा धेरै कुरामा असमानता भएपनि बाँच्न चाहने कुरामा प्रायः समानता नै देखिन्छ । हरेक मान्छे सकेसम्म जिन्दगीको अन्तिम सास फेर्दासम्म पनि बाँच्न चाहन्छ । वृद्धावस्था हुँदै गएपछि बाँच्ने चाहना झन् बढ्छ भनिन्छ । त्यसैले आत्महत्या सामान्य कुरा होइन, यस्तो असामान्य कुराको कारण खोजौँ र समाधानका लागि आ-आफ्नो ठाउँबाट पहल गरौँ ।