नारी

नारी


✍ सरला शर्मा

ए नारीहरू हो उठौँ न अब त एकजुट सारा बनी ।
हाम्रै निम्ति उदाइ भूमितलमा लाली छरेको छ नि ॥
खोली नेत्र झल्याँस्स ब्युँझिन यहाँ नारीहरू हो सब ।
पासो बन्धनको फुकाइकन त बाटो समाऊँ अब ॥

दाजुभाइहरू लडी लडी यहाँ अंशै फुटाइ लिने ।
दिदी बहिनीहरू पराधीन भई दासी कमारी हुने ॥
एउटै छन् जननी धरातल विषे छोरा र छोरी हुने ।
छोरी दासी हुने अनेक विधिले छोरोचैँ अंशै लिने ॥

साँच्चै नै रचेछन् अघि पुरुषले आफ्नै भलाइ हुने ।
धेरै पाप र धर्मका नियमले नारी कजाई लिने ॥
नारी मर्न गए भने पुरुषलाई लाग्दैन जुठो रति ।
स्वामी मर्न गए भने ती सतीले भोग्ने कति हो कति ॥

नारीनिम्ति रचे अघि पुरुषले सब धर्मशास्त्रै पनि ।
स्वामी भक्त रहे अनेक दुःख सहे पुगिन्छ स्वर्गै भनी ॥
लाग्ला पाप कहाँ छ धर्म कति त त्यो स्वर्गलोकै महां ।
झुटो बातमा भुलेर दिन दिन बस्नु परेको यहाँ ॥

खुम्ची बस्नु हुँदैन यो बखतमा हामी अगाडी बढौँ ।
न्यायका पछि लागी सबले अन्याय मास्नै लडौं ॥
धेरै बुद्धि छ हामीमा पनि सधैं स्वार्थी बनेका किन ।
पाना पल्टिरहेछ नि दिनदिनै स्वतन्त्र इच्छा लिन ॥

नारीको मन खिन्न ब्याकुल सधैं यो विश्वका माझमा ।
सङ्घर्ष गरी जित ल्याउनु छ है एउटा ठुलो साँझमा ॥
विश्मा कति नारीले हक लिए स्वतन्त्र इच्छामा ।
हामीचैँ दिनरात कर्म भजदै दासी बनेका यहाँ ॥

नारीको जय होस् भनेर सबले आवाज चर्को छरी ।
बोकौं बन्दुक नै खुँडाहरू यहाँ गोली र गट्ठा गरी ॥
नारीले रणचण्डिको रूप लिइ उठ्ने छिन् भोलि यहाँ ।
झन्डा विजयको लिईकन फिरौं स्वतन्त्र नेपालमा ॥