फ्रान्सको एफिल टावरबाट आमा छोरी’ नामक पुस्तक लोकार्पण

फ्रान्सको एफिल टावरबाट आमा छोरी’ नामक पुस्तक लोकार्पण


फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ ।

११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिविहीन लेखिका बुना दाहालको नेतृत्वमा १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।

फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सीता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिविहीन भएपनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मको उनले प्रशंसा गरे ।

उता, दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिले पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सीमित रहने बताइन् । ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिविहीन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमाछोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफ्नो आँखाको दृष्टि नभए पनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहीन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।

अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाले आमा र छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादन गरेका हुन् ।