मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका-४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
जिप्रका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यस्तै, बाराको महागढीमाई नगरपालिकास्थित थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बाराकै आदर्श कोतवाल गाउँपालिका १ जमुनियाका अन्दाजी २२ वर्षीय विकास कुमार साह घाइते भएका थिए । उनको उपचारको क्रममा गण्डक अस्पताल वीरगञ्ज पर्सामा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन फरार भएकाले खोजी भएरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया