गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सो कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका-७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो गोरखा बसपार्कबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन् ।
प्रतिक्रिया