बेल्जियमका लागि नेपालस्थित स्विस दूतावासले भिसा आवेदन लिने

बेल्जियमका लागि नेपालस्थित स्विस दूतावासले भिसा आवेदन लिने


  • सनत आचार्य, बेल्जियम

विगतमा बेल्जियमका लागि प्रवेशाज्ञासम्बन्धी सम्पूर्ण काम जर्मन दूतावासबाट हुने गरेकोमा आगामी १ अप्रिल २०२३ देखि भने उक्त काम एकान्तकुना (ललितपुर)स्थित स्विस दूतावासले गर्ने भएको छ ।

दुतावासले प्रवेशाज्ञा आवेदन दिएको १४ दिनभित्र आवश्यक प्रक्रिया पूरा हुने पनि जनाएको छ । नेपालस्थित स्विस दूतावासको आधिकारिक वेभसाइडमा यसबारे जानकारी उपलब्ध छ ।

दुतावासले ९० दिनसम्मको सेन्जेन प्रवेशाज्ञा आवेदन आफूहरूले हेर्ने जनाएको छ भने प्रवेशाज्ञा दिने व्यक्तिहरूको संख्या बढ्दै गएको हुँदा प्रवेशाज्ञा प्रक्रियामा केही ढिलाइ हुन सक्ने भएकोले समयमै सम्पर्क राख्न पनि सुझाएको छ ।

प्रवेशाज्ञा आवेदनका लागि दूतावासको वेभसाइडमा गएर आवश्यक सुचनाहरू प्रविष्ट गर्नुपर्छ । वेभसाइडमा पवेशाज्ञा आवेदनका लागि चाहिने कागजात के-के भन्ने सम्बन्धमा पनि स्पष्ट पारिएको छ । भिसा आवेदकले सोही आधारमा कागजातहरू तयार गरी आवेदन दिनुपर्ने छ ।

विगतमा नेपालमा बेल्जियम सरकारको दूतावास नहुँदा बेल्जियमका सबै प्रकारको प्रवेशाज्ञा (भिजा) आवेदन ज्ञानेश्वरस्थित जर्मन दूतावासले लिने गरेको थियो । तर गत डिसेम्बरमा जर्मन दूतावासले आफ्नो वेभसाइडमार्फत सूचना जारी गर्दै १ मार्च २०२३ देखि बेल्जियमका लागि भिसा आवेदन फाराम आफूहरूले नलिने जनाएको थियो ।

बेल्जियमका लागि भिसा आवेदन किन नलिने भन्ने सम्बन्धमा कुनै ठोस कारण नबताइए पनि दूतावाकिा एक कर्मचारीले भने जर्मन दूतावासले अन्य देशहरूको समेत भिजा आवेदन लिने गरेकोमा सीमित कर्मचारी र कामको चापका कारण आफूहरूले बेल्जियमका लागि प्रवेशाज्ञा आवेदन नलिएको बताए ।

पछिल्लो समयमा बेल्जियममा भएका प्रवासी नेपालीहरू भने भिसामा कडाइ गरेका कारण रुष्ट बनेका थिए । जर्मन दूतावासले दशैँ, तिहारलगायतका पर्वहरूमा अभिभावकहरूलाई भिसा नदिएको भन्दै चर्को विरोधसमेत गरेका थिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमले फेसबुक म्यासेन्जरमा समुह बनाएर यो विषयबारे बेल्जियम सरकारलाई आग्रह गर्दै सचेत तुल्याउनेसम्मका विषय उठान गरेको थियो भने पहुँचवालाहरूले सम्बन्धित मन्त्रालयसम्म यो विषयलाई प्रवेश गराएका थिए ।

नेपालस्थित स्विस दूतावासले बेल्जियमलगायत लातभिया, पोल्याण्ड र स्लोभाकियाको समेत भिसा आवेदन लिने गरेको छ ।