अनेसासको पाँचौ च्याप्टर र महिला सम्मेलन : १३बुँदे बोष्टन घोषणापत्र जारी गर्दै सम्पन्न

अनेसासको पाँचौ च्याप्टर र महिला सम्मेलन : १३बुँदे बोष्टन घोषणापत्र जारी गर्दै सम्पन्न


  • विशेष प्रतिनिधि

अनेसासको पाँचौ च्याप्टर र महिला सम्मेलन अमेरिकाको बोस्टन शहरस्थित नेपाली समुदायको पशुपति तथा बुद्ध फाउन्डेशनको सभा भवनमा भव्यताका साथ सम्पन्न भएको छ । मार्च १०-१२ मा सम्पन्न सम्मेलनमा अमेरिकाका विभिन्न राज्यलगायत नेपाल, भारत, जापान र युरोपका विभिन्न देशका च्याप्टर तथा महिला प्रतिनिधिहरुको उपस्थिति थियो । मार्च १० मा आमन्त्रित पाहुना तथा प्रतिनिधिहरुलाई सांगीतिक कार्यक्रमका साथ परिचय, रात्रीभोज र केक काटेर स्वागत गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन मार्च ११ को सम्मेलनको शुभारम्भ तथा शुभकामना सत्र अतिथिहरुलाई पञ्चकन्याले फूलको गुच्छा र खादा लागाएर स्वागत गरेका थिए । प्रमुख अतिथि मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट ह्यारी भण्डारी र विशेष अतिथि बोस्टनका प्रल्हाद केसीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम आरम्भ गरेका थिए । बाल सहभागिता पनि रहेको शुभारम्भमा मंगलाचरण मन्त्र र राष्ट्रिय गीतबाट शुरु भएको थियो । अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले अतिथिहरुलार्इ स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन अनेसास महासचिव विमला निरौलाले गरेकी थिइन् भने कार्यक्रम संयोजक महेश्वर पन्तले साथ दिएका थिए ।

संस्थामा लामो समयदेखि योगदान दिने रोहिणी शर्मालाई सम्मानित गरिउको थियो भने अग्रज साहित्यकार मोहन सिटौलालाई अनेसास डायस्पोरा साहित्य रत्न अनि साहित्यकार गीता खत्रीलाई अनेसास सयस्पोरा नारीरत्न पुरस्कारले सम्मान गरिएको थियो । त्यस्तै, प्रवासमा नेपाली भाषा पाठशालामार्फत बालबालिकालाई भाषा प्रशिक्षण गराउँदै आएका पदमा लिम्फा मगर र जानु ओझालाई आदर्श गुरुआमा पुरस्कारबाट सम्मान गरिएको थियो ।

उक्त अवसरमा अनेसासका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिलगायत प्रमुख अतिथि, अतिथि तथा अन्य विद्वान् वक्ताहरुले बढ्दो अप्रवासनमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाइराख्न र पछिल्लो पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिको पहुँच कायम राख्न आनेसाले गरेका कामहरुको प्रसंशा गर्नुका साथै यस्ता सम्मेलन र विचारहरुको आदानप्रदानको महत्व दर्शाउँदै सम्मेलनको सफलताको कामना गरेका थिए । उक्त अवसरमा विभिन्न संघ संस्थाले मन्तब्य ब्यक्त गरेका थिए । साथै समय समयमा उक्त सम्मेलनका संयोजक तथा बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तले कार्यक्रमका प्रायोजक तथा स्थानीय प्रतिनिधिहरुको परिचय गराएका थिए ।

अनेसासका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय साहित्य तथा कलाप्रेमी नेपालीभाषी व्यक्तित्वहरुको बाक्लो उपस्थिति र सहभागिताले भब्य बनेको उक्त कार्यक्रमको सभापतित्व अनेसासका केन्द्रिय अध्यक्ष तथा साहित्यकार गोवर्धन पूजाद्वारा गरिएको कार्यक्रमको संचालन अनेसास केन्द्रिय महांसचिव विमला निरौलाले गरेका थिए ।

सोही दिनको दोश्रो कार्यक्रमको रुपमा अनेसासका च्याप्टरहरुको सम्मेलन सबै च्याप्टर प्रतिनिधिहरुले आ आफ्नो च्याप्टरमा भएका गतिविधिको प्रतिवेदन तथा समस्या र च्याप्टरको भावी कार्ययोजना र केन्द्र र च्याप्टरबीचको सम्बन्ध तथा सहकार्यका बारेमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुले राखेका थिए । उक्त सत्रको अन्तमा अध्यक्ष गोवर्धन पूजाबाट च्याप्टरहरुलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना र पछिल्लो पुस्तासम्म पहुँच बढाऊन च्याप्टरहरुले गरिरहेको प्रयास र उपलब्धिको लागि धन्यवाद दिँदै भएका समस्याहरुको केन्द्रले मिलेर समाधान खोज्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तमा संस्थाका महांसचिव तथा सर्वोत्कृष्ट च्याप्टर मुल्यांकन समितिको सहजकर्ता विमला निरौलाले पूर्वनिर्धारित सर्वोत्कृष्ट च्याप्टर मुल्यांकन विवरण फारम पेश गरेका च्याप्टरहरु मध्येबाट भएको मुल्यांकन विवरण पेश गरेका थिए । जसमा कोलोराडो च्याप्टरले उत्कृष्ट च्याप्टर घोषित भयो । त्यसैगरी कतार च्याप्टरले प्रोत्साहन पुरस्कार र अन्य पाँच च्याप्टरर्हरुले प्रसंशापत्र प्राप्त गरे । उक्त पुरस्कारको प्रयोजन क्रमशः अनेसास बोर्ड अफ ट्रष्टी सभापतिसमेत रहेका पदम विश्वकर्मा र अनेसास ट्रस्टी तथा साहित्यकार इश्वरी भट्ट (न्यु ह्याम्प्सायर) गरेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले सभापतित्व गरेका थिए भने संचालन शकुन ज्ञवालीले गरेकी थिइन्।

सम्मेलनको पहिलो दिनको तेस्रो आकर्षण ‘अनेसास हिजो आज र भोलि’ भन्ने विषयमा विज्ञहरुले चर्चा परिचर्चा गरेका थिए । पुर्वअध्यक्षहरु पुरु सुवेदी, भीम रेग्मी र मोहन सिटौला विशेष वक्ता रहेको उक्त सत्र निकै सान्दर्भिक देखिन्थे । अनेसास महासचिव विमला निरौलाले संचालन गरेको उक्त सत्रको उपाध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको थियो ।

पहिलो दिनको अन्तमा रात्रीभोजसहित विशेष संस्कृतिक कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो ।

कार्यक्रमको तेस्रो तथा अन्तिम दिनको पहिलो सत्र महिला सम्मेलनबाट शुरु भएको थियो, जसको अध्यक्षता नेपाल च्याप्टर अध्य्क्ष तथा महिला संयोजक सन्ध्या पहाडीले गरेकी थिइन् । महिला वक्ताहरु साहित्यकार सीता पाण्डे, पूर्वसांसद शान्ता चौधरी, साहित्यकार मञ्जु विमली, बिओटी सदस्य रश्मी भट्ट, अनेसास सल्लाहकार भारती गौतम, बिओटी निवर्तमान अध्यक्ष गीता खत्री, नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईं, साहित्यकार डा. शशि थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मौका परेर योजना गरिएको उक्त महिला सम्मेलनमा महिलाहरुको योगदानको कदर र शुभकामना ब्यक्त गर्दै साहित्य लेखनमा महिलाहरुको चुनौतीको विषयमा आआफ्नो राय ब्यक्त गरेका थिए ।

उक्त अवसरमा भारतको दार्जलिङ सिलगुडी च्याप्टरकी उपाध्यक्ष साहित्यकार ललिता छेत्रीको गीत विमोचन गर्नुको साथै छोरीहरुले जन्माएको आमाहरु पुस्तकको चर्चा लेखिका तथा कंसस च्याप्टर अध्यक्ष कमला न्यौपानेले गरेकी थिइन् । अनेसास बिओटी सभापति पदम विश्वकर्मा, अनेसास अध्यक्ष गोवर्धन पूजा, अनेसास केन्द्रकी महासचिव विमला निरौला, महिला सदस्य तारा अधिकारी र शकुन ज्ञवालीले पनि छोटो विचार र शुभकामना राखेका थिए । समापन गर्दै महिला संयोजक सन्ध्या पहाडीले महिला लेखनको चर्चा गर्दै सबैलाई धन्यवाद व्यक्त गरिन् । कार्यक्रम संचालन केन्द्रिय सदस्य सरिता अर्यालले गरेकी थिइन् ।