भ्रष्टको चङ्गुलमा नारायणी अस्पताल !

भ्रष्टको चङ्गुलमा नारायणी अस्पताल !


  • अमित चौरसिया, पर्सा

मध्य तराईका आम नागरिकले सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगञ्जस्थित नारायणी अस्पताल भ्रष्टाचारीहरूको चङ्गुलमा फसेर आफै अस्वस्थ्य बनेको छ । केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट हेरफेर भए पनि कार्यशैली साविककै रहने गरेको छ ।

अस्पतालमा अवश्यकता भन्दा बढी समान खरिद, गुणस्तरहीन समानको आयातका साथै अस्पतालको जिन्सीमा समानको साटो बिल मात्र पुऱ्याएर भुक्तानी हुने गरेको पाइएको छ । अस्पताल सुत्रका अनुसार खरिद भुक्तानी भएको स्वास्थ्य सामाग्री तथा उपकरणमध्ये २५ प्रतिशत समान मात्रै आएको छ । खरिद भएका सामान मेडिकल सुपरिटेन्डेन्ट र उनका नजिकका चिकित्सकहरू आफ्नो क्लिनिक र अस्पतालमा लगेर प्रयोग गर्ने गरेका छन् । गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंको टोलीले छापामारी केही शीर्षकको कागजपत्र नियन्त्रणमा लिइ लगेको छ । छापामारीको क्रममा अख्तियारका अधिकारीले खासगरी अस्पतालले खरिद गरेको उपकरणको विषयमा बढी चासो देखाएको थियो । खरिद भएका उपकरणहरू जनताको स्वास्थ्यसेवामा प्रयोग गर्नुको साटो स्टोरमै किन थन्क्याएको, आवश्यकता नभएका उपकरणहरू किन खरिद गरिएको, खरिद भएको अन्य उपकरणहरू कहाँ छ जस्ता प्रश्नसहित उपकरणको गुणस्तरको बारेमा सोधखोज गरेको थियो ।

यसअघिका मे.सु. डा. वीरेन्द्र प्रधानको नेतृत्वमा रहेका डा. दीपक चौरसिया, डा. उदयनारायण सिंह, नर्सिङप्रमुख श्रुति साहलगायतका चिकित्सकहरूको टोलीले स्टोर हेर्ने सुब्बा सुशीलप्रसाद यादवलाई प्रलोभन तथा प्रभावमा परेर अनावश्यक तथा गुणस्तरहीन केही समान खरिद गरी बाँकी सामान खरिद नै नगरी बिल बनाएर नागरिकको गुणस्तरीय स्वास्थ्यसेवाका लागि नेपाल सरकारबाट आएको बजेट हिनामिना गरेको देखिएको छ । अस्पतालका एक पुराना चिकित्सक भन्छन्- ‘डा. दीपक चौरसिया, डा. उदयनारायण सिंह, नरसिङ प्रमुख श्रुति साह लगायत चिकित्सकहरूको एउटा संजाल नै लागेर नेताहरूसँग लविङ गरी डा. वीरेन्द्र प्रधानलाई मे.सु. बनाउन लगाएका थिए । पछिल्लो ६-७ वर्षदेखि ती चिकित्सकरूको संजालले नै त्यहाँ मे.सु. नियुक्ति गराउने गरेका छन् । अहिलेका मे.सु. डा. चित्तरंजन साहलाई सोही समुहले लविङ गरी मे.सु. बनाउन लगाएका छन् । डा. वीरेन्द्र प्रधान गत मंसिरमा सेवानिवृत्त भएपछि सर्वोत्तम असपतालका सञ्चालकसमेत रहेका साहलाई सो समुहले मे.सु. नियुक्ति गराइ अस्पताललाई आफ्नो चङ्गुलमा लिने कार्यलाई निरन्तरता दिएका छन् ।

समान नै खरिद नगरी भुक्तानी गर्ने कार्य आफूले नगर्ने अडान राखेपछि अस्पतालका लेखापाल रञ्जन कर्णको त्यहाँबाट सरुवा गराइ जिल्ला वन कार्यालयमा पठाइएको थियो । लेखापाल कर्ण हालका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृषणहरि पुष्करका सहोदर भाइ हुन् । कर्णको ठाउँमा सुदिप माझीलाई ल्याइ भुक्तानी गराउन तत्कालिन मे.सु. प्रधान र स्टोरकिपर सुशील यादव सफल भएका थिए । यता आधा दशकदेखि अस्पतालमा डेरा जमाएका स्टोरकिपर सुब्बा सुशील यादवको पनि सरुवा सघन शहरी तथा भवन निर्माण आयोजना, पर्सामा एक महिनाअघि भए पनि मे.सु. साहले उनलाई रोकेर राखेका छन् । यादवको ठाउँमा आएका सुब्बा भने अलपत्रमा परेका छन् ।

स्टोरमा खरिद भएको उपकरण तथा सरसमान नरहेको र कागजपत्र पनि गडबड रहेको अवस्थामा अख्तियारले समेत खोजिनीतिसुरु गरेपछि समग्रमा मामिला मिलाउन सुब्बा यादवलाई मे.सु. ले रोकेको त्यहाँका कर्मचारी बताउछन । यता त्यहाका लेखापाल सुदिप माझीका सरुवा दुई महिनाअगाडि आन्तरिक राजश्व कार्यालय वीरगंजमा भए पनि उनी राजश्व कार्यालयमा हाजिरी गर्ने र दिनभरी नारायणी अस्पतालमा नक्कली बिल भरपाइसहितको फर्जी फाइल तयार गर्न ब्यस्त रहेका देखिएको छ । लेखापाल माझीले कागजपत्र तथा श्रेष्ता बुझबुझारत नयाँ लेखापाललाई नगरेको सम्बन्धमा कोष लेखा नियन्त्रक कार्यालय पर्सामा समेत गुनासो पुगेको छ तर नारायणी अस्पतालको सम्बन्धमा सम्बन्धित निकाय तैँचुप मैचुपको अवस्थामा छन् ।

नारायणी अस्पतालको भ्रष्टाचारमा जिल्लास्थित केही राजनितिककर्मी संरक्षकको भूमिकामा देखिएका छन् । उनिहरू सरुवा भएका स्टोरकिपर र लेखापाललाई पुनः नारायणीमा फिर्ता ल्याउने कार्यमा सक्रिय देखिएका छन् । भएको भ्रष्टाचारमा एक अंश प्राप्त गरेका राजनीतिककर्मी पछिलो समय सरुवा बदरको नाममा त्यहाँका भ्रष्ट कर्मचारीसँग मोटै रकम बार्गेनिङ गरेका छन् । सो कार्यमा लाग्ने राजनीतिक कर्मीलाई सवारी साधनका साथै अन्य खर्चसँगै साझको मदिरा पानसहितको भोजनको खर्च मे.सु.का नजिक रहेका डा. सिंह र डा. चौरसियाले ब्यहोर्ने गरेका छन् ।

समग्र प्रकरणबाट नागरीक पीडित भएका छन् । मध्यम वर्गका साथै विपन्न तथा अति विपन्न परिवारका बिरामी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको अभावमा दरदर भट्केका छन् तर वीरगंजका राजनीतिक दल र नागरिक समाज अस्पतालको समसयाप्रति गम्भिर देखिएका छैनन् ।