जापानका प्रधानमन्त्री र द. कोरियाका राष्ट्रपतिबीच टोकियोमा शिखर वार्ता हुँदै

जापानका प्रधानमन्त्री र द. कोरियाका राष्ट्रपतिबीच टोकियोमा शिखर वार्ता हुँदै


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री किशिदा फुमियो र दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलबीच आज बिहीबार टोकियोमा शिखर वार्ता हुने भएको छ ।

सन् २०१९ मा भएको जी २० समूहको शिखर सम्मेलनपछि दक्षिण कोरियाली राष्ट्रपतिको यो पहिलो जापान भ्रमण हुने भएको छ । अन्तर्राष्ट्रिय जमघटहरूमा भाग लिँदा भएका भेटहरु बाहेकलाई हेर्दा यो १२ वर्षमा पहिलो पटक कोरियाली राष्ट्राध्यक्षको पहिलो औपचारिक जापान भ्रमण र शिखरवार्ता हुनेछ ।

सियोलले वर्षौंदेखि द्विपक्षीय सम्बन्धमा रहेको युद्धकालीन श्रम समस्या समाधान गर्ने योजना घोषणा गरेपछि शिखर सम्मेलन तय भएको हो ।

किशिदाले युनलाई दक्षिण कोरियाले अपनाएको दोस्रो विश्वयुद्धकालिन श्रमिक विवाद समाधान उपायको कदर र स्वागत गर्ने औपचारिक रुपमा बताउने समाचारहरुमा उल्लेख छ ।

नेताहरूले आपसी भ्रमणको सुरुवातको पुष्टि गर्ने अपेक्षा गरिएको छ । जुन १० वर्ष भन्दा बढी समय देखि भएको छैन । अघिल्लो दक्षिण कोरियाली सरकार सत्तामा रहँदा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा तल्लो बिन्दुमा पुगेको भनिएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने उद्देश्यले दक्षिण कोरियाली राष्ट्रप्रमुखको जापान भ्रमण हुन लागेको हो ।

जापानका केही सरकारी अधिकारीहरूले युनलाई मे महिनामा हिरोसिमामा हुने जि सेभेन समूहको शिखर सम्मेलनमा आमन्त्रित गर्नुपर्ने प्रस्ताव राखेका छन् । अहिले उक्त सम्मेलनको लागि व्यवस्थाहरु भइरहेका छन् ।

दुई नेताहरूले गिन्जा जिल्लामा एक रेस्टुरेन्टमा सँगै खाना खाने कार्यक्रम पनि छ जहाँ युनले आफ्ना बुबासँग भेटेको बताइन्छ ।

किशिदाले आपसी विश्वास निर्माण गर्ने लक्ष्य राख्दै दक्षिण कोरियाली राष्ट्रपतिसँग स्पष्ट विचार आदानप्रदान गर्ने प्रयास गर्ने ठानिएको छ ।