निजामति कर्मचारी अस्पतालमा कर्मचारीहरु आन्दोलित

निजामति कर्मचारी अस्पतालमा कर्मचारीहरु आन्दोलित


राजधानीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजीनामा मागेका छन् ।

अस्पतालले केहि दिनअघि विभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरुबीच विवाद उत्पन्न भएको थियो ।

असन्तुष्ट चिकित्सक, कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको राजीनामा मागेका हुन् । अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । वर्षौंदेखि कार्यरत कर्मचारीको हितविपरीत ब्यवस्थापन एकलौटी लागेको भन्दै उनीहरुले आन्दोलन समेत घोषणा गरेका छन् । उनीहरुले दिनहुँ १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन् ।

निजामती कर्मचारी अस्पतालमा क्रियाशील आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन गरेका हुन् । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनिका सचिव विनोद पोखरेल जानकारी दिएका छन् भने डाक्टर्स एसोसियसनका महासचिव डा. दीपेश केसीले पोखरेलको भनाइलाई सहमति जनाएका छन् ।

उनीहरुले विरोधस्वरुप कालो ब्यानरमा आफ्ना मागहरु लेखेर अस्पतालमा टाँसेका छन् । ब्यानरमा ६ वटा माग लेखिएको छ, जसमा-
१. असक्षम कार्यकारी निर्देशक राजीनामा गर,
२. पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर,
३. अदालतको फैसलाबमोजिम चिकित्सक र कर्मचारीको स्थायित्वको सुनिश्चित गर,
४. विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गरियोस्,
५. रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गरियोस्, जस्ता माग उनीहरुले व्यवस्थापन पक्षसँग गरेका छन् ।