डडेल्धुरामा वर्षाले बढायो ठण्डी !

डडेल्धुरामा वर्षाले बढायो ठण्डी !


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । केही दिनयता भएको निरन्तर वर्षाका कारण अत्याधिक ठण्डी बढेको हो । वर्षा भएसँगै डडेल्धुरामा अत्याधिक चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । साताको शुरुदेखि नै जिल्लामा निरन्तर वर्षा भइरहेको छ ।

चिसोले गर्दा बिहानबेलुका दैनिकी काम गर्न समेत समस्या भएको स्थानीयको भनाइ छ । चिसोबाट जोगिन स्थानीयहरूले आगो तथा हिटरको सहारा लिएका छन् । लगातारको झरीका कारण चिसो बढेर घरबाहिर निस्कन समस्या भएको छ भने बालबालिकाको पढाइसमेत प्रभावित भएको स्थानीय हरि साँउदले बताए ।

मंगलबार सम्म १९ दशमलब ० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराले जानकारी दिएको छ । बुधबार पनि वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ । प्रि-मनसुनमा तीन वर्षयताकै बढी वर्षा भएको छ ।

डडेल्धुराको न्यूनतम तापक्रम ५ दशमलब ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम ११ दशमलब ४ डिग्री सेल्सियस रहेको छ । १५ डिग्री भन्दा तल तापक्रम झर्नुलाई चिसो बढेको मानिन्छ । हावा चल्न बन्द भयो भने तापक्रम घट्दै जाने र हिउ पर्ने सम्भावना समेत रहन सक्छ । हाल ४ डिग्री उत्तर तर्फ हावा चलिरहेको छ ।

वर्षाका कारण जिल्लाका उच्च लेकाली क्षेत्रसँगै ग्रामिण क्षेत्रमा समेत चिसो बढेको छ भने बजार क्षेत्रमा पनि चिसोले जनजीवन कष्टकर बनेको छ । चिसोका कारण बालबालिका र वृद्धवृद्धा वढी प्रभावित भएका छन् । अत्याधिक चिसो भएपछि सदरमुकाम बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै घरभित्रै बसिरहेका छन् । अत्याधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धाहरु बिरामी पर्न सक्ने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।