स्वाभिमानको गीत

स्वाभिमानको गीत


✍ गंगा खड्का

मनका रित्ता आँगनहरूमा
गजधुम्म छ, चाहनाको चिसो चुल्हो
विचारका कोइला बाली
उ तताउँदै छ तनलाई जसैतसै
सँगसँगै फकाउँदै छ आफ्नै मनलाई !

जिब्राहरूमा अतृप्त स्वाद लिएर
बसालेकी छु मैले चिसो चुल्होमा
मनचिन्ते परिकारहरू किसिमकिसिमका
भोकको राप बाल्दै वरिपरि बसेर
ताप्दैछौँ हामी सिरेटाहरू !

विचारका ताप्के तात्न छाड्दैन
जुनेली रातमा पनि
सँगसँगै टिमटिमे उज्यालो छर्दै
औंसीको रात चिर्ने कोसिसमा छ
एउटा जुनकिरी
छिपछिपे हिलो बनेका छन्
कयौँ परिवारका अपरिभाषित आँखा
धिपधिपे बत्तीमा अडिएका
हाम्रा विश्वासहरू
कहिलेकाहीँ निराशाका सुस्केराहरूले
झ्याप्प निभ्न खोज्छन्
तैपनि दृढविश्वासका
अनगिन्ती सपनाहरू निल्दैछौँ हामी
र, अघाएको अभिनय गर्दै
तापिरहेका छौँ सिरेटाहरू !

कुनैबेला हुस्सुका सिरक ओढ्छौँ गम्लङ्ग
जूनताराहरूको सिरानी लगाउँछौँ
बोल्छौँ मिठो ध्वनीमा आगामी गीतका अन्तराहरू
न्यानो महसूस गर्दै
निदाएको अभिनय पनि गर्दैछौँ
सिरेटो ताप्दै
भोको पेटले गाउने प्रयास गर्दैछौँ हामी
स्वाभिमानको गीत !