‘स्थायी कागज’को आश गर्दागर्दै बेल्जियममा चर्मकारको निधन !

‘स्थायी कागज’को आश गर्दागर्दै बेल्जियममा चर्मकारको निधन !


नेपाली समुदायद्वारा अन्तिम श्रद्धाञ्जली

  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेनमा गत बिहीबार निधन भएका धनबहादुर चर्मकारप्रति बेल्जियमबासीले आइतबार अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बागलुङ नगरपालिका–१, रामरेखाका ४५ वर्षीय धनबहादुर चर्मकार विगत केही समयदेखि स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिएका थिए । शारीरिक समस्याका कारण उनले नियमित औषधी सेवन गर्ने गरेका थिए । तर, बुधबारसम्म सामान्य रहेका उनको सोही राति सुतिरहेकै अवस्थामा अकस्मात मृत्यु भएको थियो ।

विगत १४ वर्षदेखि बेल्जियममा बस्दै आएता पनि चर्मकारको स्थायी कागज भने थिएन । कागजबिना (गैरकानुनी रूपमा) बसेर काम गर्दै आएका चर्मकार सोही कारणले मानसिक तनावमा रहेको उनका निकटजन बताउँछन् । बेल्जियम आएदेखि उनी एक पटक पनि घर (नेपाल)समेत फर्किन सकेका थिएनन् ।

चर्मकारले आफूनिकटसँग विगत १४ वर्षदेखि कागजका कारण नेपाल जान नसकेको र अब छिट्टै नेपाल फर्केर उतै केही गर्ने सोच रहेको बताएका थिए ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतमका अनुसार चर्मकारका आमा, श्रीमती र दुई सन्तान रहेका छन् । जेठी छोरीको विवाह भइसकेको र छोरा स्वास्थ्यको दृष्टिकोणले कमजोर भएको र वृद्ध आमा, श्रीमतीको आर्थिक अवस्था निकै दयनीय रहेको उनले जानकारी दिए ।

बेल्जियमको स्थायी कागज नभएको हुँदा चर्मकारको शवलाई नेपाल पठाउन केही कठिनाइ पर्ने र सोको लागि ठुलो धनराशि आवश्यक पर्ने भएकोले पारिवारिक सहमतिअनुसार उनको भोलि (सोमबार) लुभेनमै अन्त्यष्टि गरिने पनि गौतमले जानकारी दिए ।

दिवंगत चर्मकारको परिवारलाई आर्थिक सहयोग गर्न गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य गंगा शर्माको संयोजकत्वमा समिति गठन गरिनुका साथै बेल्जियमबासीले नगद संकलन गरिरहेका छन् । शव व्यवस्थापन तथा अन्य आवश्यक सहयोगका लागि बाग्लुङ समाजले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।

आइतबार सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा बेल्जियमका लागि नेपाली दूतावासका प्रतिनिधि रमेश गैरे, गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी एवम् सदस्य, गैरअवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष एवम् पदाधिकारीलगायत बेल्जियमका विभिन्न संघसंस्थाहरुका प्रतिनिधि, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

चर्मकारको परिवारलाई आर्थिक सहयोग गर्न गैरआवासीय नेपाली संघ बेल्जियमले केन्द्रीय सदस्य बाग्लुङनिवासी गंगा शर्माको संयोजकत्वमा समिति गठन गरेको र, सहयोगस्वरुप संकलन भएको रकम केही दिनपश्चात परिवारलाई हस्तान्तरण गर्ने बताइएको छ ।

स्वर्गीय चर्मकारका निकटजनबाट मिलेको जानकारीअनुसार उनले बेल्जियममा आफूनिकट केही साथीभाइलाई नगद सापटी दिएका छन्, तर क–कसलाई कति रकम दिएको भन्ने खुल्न नसकेको बुझिएको छ ।