नेफिन जापानको १८औँ महाधिवेशन सम्पन्न

नेफिन जापानको १८औँ महाधिवेशन सम्पन्न


  • जापान प्रतिनिधि

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १८औँ महाधिवेशन सम्पन्न भएको छ । टोकियोमा बागमती प्रदेश सभासद अमनकुमार मास्केको प्रमुख आतिथ्यतामा महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाडौं ६ बाट निर्वाचित बागमती प्रदेश सभाका सदस्य अमनकुमार मास्केले सबै जापानवासी आदिवासी जनजातिहरु एकजुट भएर लाग्न अपिल गरे । नेपाली र जनजातिहरुको योगदानको कदर गर्दै सांसद मास्केले विदेशमा रहेका लाहुरे अर्थात् जनजातिहरुले रेमिट्यान्स गरेर देशलाई श्रीलंका हुनबाट बचाएको तर्क गरे ।

नेकपा (एमाले) बाट निर्वाचित सांसद मास्केले आफू नेवार हुनुमा गर्व रहेको बताउँदै नेपालको विकास र मातृभूमिलाई थोरै भएपनि योगदान गर्न आग्रह सबैलाई आग्रह गरे ।

त्यसैगरी, विशेष अतिथिका रुपमा उपस्थित जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आदिवासी जनजातिहरुको पहिचान नेपालको पहिचान र सम्पति भएकोले आफ्नो पहिचानमा सजिन सुझाव दिए ।

महाधिवेशनमा गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एनआरएनए जापान अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए एशिया सहसंयोजक ददिवल खड्का, नेपाल पत्रकार महासंघ जापान अध्यक्ष शान्त पहरी लगाएत विभिन्न संघसंस्थाका अग्रजहरुको उपस्थिति रहेको थियो ।

महाधिवेशनको बन्द सत्रबाट आर्थिक र प्रगति प्रतिवेदन पारित गरि नयाँ नेफिन जापान संघीय परिषद सचिवालय सर्वसहमत रूपमा गठन गरिएको थियो ।

जनजाति महासंघमा आवद्ध दश जातीय संस्थाहरुको नेतृत्वबीच लामो छलफलपछि चक्रीय प्रक्रियालाई अवलम्बन गरेर अध्यक्षमा सुकुमान थिङ तामाङ, वरिष्ठ उपाध्यक्षमा श्रीभक्त गुरुङ, उपाध्यक्षहरुमा केबी शेर्पा, शिशिर लिम्बू, थानु राना मगर, र महिला उपाध्यक्षमा प्रमिला गौचन सर्वसहमति चयन गरेको हो । त्यसैगरि संस्थाको महासचिवमा प्रमिला राई, सचिवमा बालविक्रम तिगेला, कोषाध्यक्षमा कान्छा लामा (शेर्पा), प्रवक्तामा भविन्द्र कुलुङलाई चयन गरिएको छ ।

नेफिन जापान संघीय परिषद् सचिवालय युवराज लाओती, नरेश राई, मनिश थापा मगर चयन भएका छन् भने हाललाई रीत राना मगरलाई सल्लाहकार मनोनित गरिएको छ । महिला सचिवसदस्य गरि अन्य खाली ठाउँमा संघीय परिषदले मनोनित गर्ने गरि १८औं महाधिवेशन टुंगिएको छ।