बेल्जियममा सङ्घको सातौँ पदस्थापन कार्यक्रम सम्पन्न

बेल्जियममा सङ्घको सातौँ पदस्थापन कार्यक्रम सम्पन्न


  • सनत आचार्य, बेल्जियम

बेल्जियमका नेपाली उद्योगी/व्यवसायीहरूको साझा संगठन नेपाली व्यवसायी संघ बेल्जियमको सातौँ पदस्थापन कार्यक्रम सोमबार लुभेनमा सम्पन्न भएको छ ।

पदस्थापन कार्यक्रमले चिरणकुमार खवासको अध्यक्षतामा निर्वाचित समितिलाई विधिवत रूपमा काम गर्न मान्यता प्राप्त भएको छ ।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले बेल्जियममा प्रवासी नेपालीहरूको सिमित पूँजी र प्रविधिले पनि नेपाली व्यवसायीहरू संख्यात्मक र गुणात्मकरूपमा अगाडि बढेकोमा प्रसंशा गर्नुभयो ।

राजदूत राजभण्डारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पुरानो कार्यसमितिसँग निकट रहेर काम गर्न पाउँदा आफू अत्यन्तै प्रभावित भएको अनुभव सुनाउँदै नयाँ कार्यसमितिले पनि सहजताका साथ लक्ष्य उद्देश्य पूरा गर्न तर्फ अगाडि बढ्नुपर्ने बताउनु भयो ।

गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव गंगाधर गौतमले व्यवसायी संघले गरेका कामहरूको प्रशंसा गर्दै यसलाई अझ व्यवसायिक र फराकिलो बनाउँदै लैजान सुझाव दिनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बेल्जियममा नेपाली व्यवसायीहरूले बुझ्नु पर्ने धेरै बिषय भएकोले व्यवसायीहरूले सुविधा कहाँ कहाँबाट पाउँछन् त्यसवारे पनि सोच्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सफलताका लागि एकता आवश्यक पर्ने भएकोले बेल्जियमका नेपाली व्यवसायीहरू एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

संघका निवर्तमान अध्यक्ष यमु निरौलाले विगतको विषम परिस्थितिमा पनि संघलाई अगाडि बढाउन टिमका साथीहरूले निर्वाह गरेको भूमिकाको स्मरण गर्दै आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सबैप्रति आभार प्रकट गर्नुभयो ।

संघका निवर्तमान महासचिव मदन दवाडीले आफ्नो करियरमा संघ प्रतिको आवद्धताले सामाजिक रुपमा स्थापित हुन मद्दत पुगेको बताउनुभयो ।

निवर्तमान कोषाध्यक्ष कासी दनैले आफुहरू व्यवसायी साथीहरूबाट व्यापार प्रवर्धनका लागि बजेट परिचालन गरिएको बताउँदै, साथीहरूको सहयोग र सक्रियताबाट संघको कोष उल्लेख्य मात्रामा बढेको जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष चिरणकुमार खवासले संघ संचालनका लागि आफुले मात्र केहि गर्न नसिकने भएको हुँदा बेल्जियमबासी उद्योगी व्यवसायी र सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

अध्यक्ष खवासले आफ्नो कार्यसमितिले व्यवसायिक हकहित र सीपका लागि बिशेष रुपमा पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा महासचिव जगदीश सापकोटाले २०२३–२०२६ का लागि कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

पदस्थापन पछि कार्यक्रममा उपस्थित सबैले २०२३–२०२६ का लागि गत जनवरी २३ मा निर्वाचित कार्यसमितिलाई शुभ कामना तथा बधाई व्यक्त गरेका थिए ।