समस्याको सागर कहिले तर्ने ? समृद्धिको संसार कहिले भेट्ने ?

समस्याको सागर कहिले तर्ने ? समृद्धिको संसार कहिले भेट्ने ?


राजनीति भन्ने शब्द नै स्वयम् लज्जित हुनेगरी भागबण्डाको खिचातानी चलिरहँदा न्यायको गुहार लगाउनेहरूको मुख थुनिएको छ, लोकतन्त्रको लाभ उठाउन खोज्दा खोज्दा जेलको छिँडी पुऱ्याइएको छ । टुँडिखेलमा उभिएर न्याय र सुरक्षा माग्ने निरीह नेपालीजनलाई लाठी लगाएर लघारिएको छ । मिटरब्याजपीडितको आर्तनादप्रति सरकारले दर्शाएको उदासिना लज्जास्पद छ ।

प्रचण्डनेतृत्वको वर्तमान सरकारले ‘हनिमुन पिरियड’ पूरा गर्दैछ । बितेको तीन महिनालाई फर्केर हेर्दा सरकारको काम-कदमले जनतामा कुनै आशा जगाउन नसकेको, उल्टै निराशा बढाएको तथ्य जगजाहेर छ । दुई महिनामै गठबन्धन बदलेर प्रधानमन्त्री प्रचण्डले काम गर्नेभन्दा सत्तामा टिकीरहने छटपटीबाट आफू ग्रस्त रहेको सङ्केत त दिएकै हुन्, तथापि यसपटकको प्रधानमन्त्रीत्व काललाई विशेष उल्लेख्य तथा स्मरणीय तुल्याएरै छाड्ने उद्घोष दोहोऱ्याइरहन अप्ठ्यारो मानिरहेका छैनन् प्रचण्ड । नयाँ सत्ता-समीकरणको महिनादिन बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका प्रचण्डले आफ्नो यो कार्यकाललाई कसरी इतिहासमै स्मरणीय तुल्याउने हुन् भन्ने सवालले हास्यरस जागृत गराइरहेछ ।

जन-जनमा उदासिनता बढ्दो छ, निराश नयाँ पुस्ता दिनानुदिन देश छाड्न विवश छ, शासकहरूको तौरतरिका भने उन्नतोन्मुख रहनुको साटो स्खलनको मार्ग पछ्याइरहेको अनुभूति हुन्छ । तमाम समस्या छन्, समाधानको लागि सरकारको प्रष्ट योजना केही छैन । राजनीति भन्ने शब्द नै स्वयम् लज्जित हुनेगरी भागबण्डाको खिचातानी चलिरहँदा न्यायको गुहार लगाउनेहरूको मुख थुनिएको छ, लोकतन्त्रको लाभ उठाउन खोज्दा खोज्दा जेलको छिँडी पुऱ्याइएको छ । टुँडिखेलमा उभिएर न्याय र सुरक्षा माग्ने निरीह नेपालीजनलाई लाठी लगाएर लघारिएको छ । मिटरब्याजपीडितको आर्तनादप्रति सरकारले दर्शाएको उदासिना लज्जास्पद छ । यसरी प्रचण्ड-राजमा निमुखा वर्गको हुर्मत लिने कार्य ऐतिहासिक तवरमै चलिरहेको छ !

राजश्वले कर्मचारीको तलब धान्न नसकिने प्रक्षेपण भइरहेको छ, अर्थ-सङ्कट चुलिएर वित्तिय संस्थाहरू टाट उल्टिँदैछन्, व्यवसायी आत्महत्या गर्न विवश छन्, तर राज्यको ढुकुटी दलका कार्यकर्ता पोस्न रित्याइँदै छ । दूरगामी तवरले नकारात्मक असर पर्ने निर्णयहरू गर्न सरकार उद्यत् देखिँदैछ, तर आफूलाई प्रजातन्त्रको पर्यायकै रूपमा अद्यापि दाबी गर्दै आएको काङ्ग्रेस माओवादीका अराजक निर्णय पास गर्न आँखा चिम्लिएर ताली ठोकिरहेछ । सुशासन र जनजीविकाको पक्षमा वर्तमान सरकारले माखो मार्न नसक्ने स्पष्ट देखिँदा पनि उ प्रचण्ड-सरकारको हिस्सेदार बनेर जनता तड्पाउन अग्रसर बनिरहेको छ । बीपीका वाणी-व्यवहारको अनुशरण गर्न छोडी बामपन्थीकरणतर्फ तीव्रतम् गतिमा क्रमशः अघिबढेको काङ्ग्रेसले यो हदमा गएर माओवादीका जघन्य ऐतिहासिक कर्मको समर्थनमा आफूलाई नाङ्गै उभ्याउल भन्ने कल्पना सायदै गरिएको थियो !

देशविरुद्ध विद्रोह गरेर युद्धमा उत्रिँदा ज्यान गुमाउने माओवादी कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डले देशकै शहीदको रूपमा राजपत्रमा नामाङ्कित गरिरहँदा काङ्ग्रेसले टुलुटुलु हेर्ने मात्र नभइ सहमतिमा सहीछाप ठोक्ने अनुमान आम काङ्ग्रेसजनले गरेका थिएनन् । अनि नेतृत्वको यस्तो विचलनको विरुद्ध आवाज नउठाइ मौन समर्थनमा ती काङ्ग्रेसजन उभिएलान् भन्ने कुनै पनि सचेत नेपालीले ठानेका थिएनन् । प्रचण्डलाई स्वच्छन्द छोडेर काङ्ग्रेस नेतृत्व कुन अभीष्ट सिद्ध गर्न खोज्दैछ- यो सवालले सबैलाई आश्चर्यमा पारेको छ । कुनैबेला ‘पाँच हजार मात्र होइन सत्रै हजारको जिम्मेवारी लिनुपर्छ’ भन्दै प्रचण्डप्रति गर्जिने कथित ‘अब्बल’ युवा नेता आज काङ्ग्रेस हाँक्ने स्थानमा छन् । आफ्नै विगतका बोलीले उनलाई गिज्ज्याइरहेको छ र पनि निर्लज्जताका साथ तिनले प्रचण्डको स्वच्छन्दतालाई उकेरा लगाइरहेका छन् । यो भन्दा विडम्बनाको अवस्था के हुन सक्छ ?!

कथित सहमतिको बहानामा पक्षविशेषलाई किनारा लगाउने निषेधको राजनीति प्रधानमन्त्री प्रचण्ड गरिरहेका छन् र, त्यसैलाई मलजल गरिरहेको छ नेपाली काङ्ग्रेसको नेतृत्वले । देशमा पहिचानको नारा उर्लिन थालेको छ, यीलगायतका असान्दर्भिक/असामाजिक र अराजक आवाजमाथि समयोचित समाधानको लगाम कस्नुपर्ने अवस्था छ । तर सत्ताधारीहरू विद्वेष र विग्रहको अवस्था रचना गरिरहेछन् । प्रतिपक्षमा रहेको सशक्त शक्ति एमाले दलको दबदबा सिथिल तुल्याउन माओवादी-काङ्ग्रेसले जसरी पसिना काडिरहेका छन्, यसले कुनै पक्षको हित नगर्ने निश्चित नै छ । यिनको आग्रहपूर्ण रवैयाले नेपाल र नेपालीलाई झन्-झन् अप्ठ्यारो परिवेशमा पुऱ्याउने स्पष्टै छ । देशप्रति संवेदनशील/चिन्तनशील हरेक नेपालीजनले अब देशविरुद्धका यी यावत पात्र र प्रवृत्तिलाई नामेट पार्न प्रभावकारी कदम चाल्न निकै ढिला भइसकेको छ । अझै यिनै पात्र, दल र शासन-व्यवस्थाबाटै समस्याको सागर तरी समृद्धिको संसार भेटौँला भन्ने आशा राख्नु आफैंलाई ठूलो घात गर्नु हो, हेक्का रहोस् !