सुशासनका शर्त

सुशासनका शर्त


हामी अहिले देशको भ्रष्टाचार, विसङ्गति वा देश विकास हुन नसक्नुमा जति नेतृत्ववर्गको दोष देख्छौँ, वास्तवमा हामी पनि बराबरी दोषको भागिदार छौँ, सहभागी छौँ । हामी त्यस दोषबाट अलग्गिन सक्यौँ भने मात्र पनि हामीले देश निर्माण र सुशासनका लागि ठुलै योगदान गरेको ठहरिने छ ।
✍ शेखर ढुङ्गेल

हाम्रो समाजमा अझै गहिरो जरो गाडेको ‘ढोके प्रवृत्ति’ दास मानसिकताको विकृत रूप हो, भ्रष्टाचारको मूल आधार हो र देशको महारोग हो । ढोके प्रवृत्ति अर्थात् गणेश प्रवृत्ति नेपालमा आजसम्म जिउँदो रहेको अर्को खराब संस्कार हो । ढोके प्रवृत्तिले गर्दा हामीले हाम्रो समाजबाट मालिक र दासको मानसिकतालाई हटाएर नागरिक सर्वोच्चता कायम गर्न सकिरहेका छैनौँ ।

यदि हाम्रो देशमा तपाईं सत्य, इमान्दारी र सुशासनको खोजी गरिरहनुभएको छ भने आजैबाट ढोके प्रवृत्ति बन्द गर्ने/गराउने काम गरौँ अनि ‘हाम्रो होइन राम्रो’ खोज्न ढोका खुला राखिदिऊँ । सुशासनका लागि पहिले प्रत्येक नागरिकले आफ्नै अन्तरआत्मालाई सोध्नुपर्छ- ‘म कति सत्यमार्गी छु, म कति इमान्दार छु’ भनेर ।

यदि तपाईं कुनै नेता वा चर्चित, प्रभावशाली प्रशासक वा व्यक्तित्वको ढोकामा नबोलाइकन ‘ज्यू हजुर’ गर्न जाँदै हुनुहुन्छ भने एक मिनेट सोच्नुहोस् त, कतै तपाईं प्रचलित नियम/कानुन तोड्न वा कतै आफ्नो अवाञ्छित स्वार्थ पूरा गर्न/गराउन त जाँदै हुनुहुन्न ? कतै तपाईंले खोज्नुभएको उपलब्धिमा अरु कसैको हक खोसिँदै त छैन ? किन तपाईं अरुको हक खोस्दै हुनुहुन्छ ? अर्काको अर्थात् योग्य व्यक्तिको पनि त तपाईंको जस्तै वा तपाईंको भन्दा ठूलो समस्या हुनसक्छ, इमान्दारीपूर्वक काम गर्ने सपना बोकेर बसेको हुन सक्छ, अरुको हक खोस्न तपाईंको नैतिकताले दिन्छ ? अर्को एक योग्य नागरिकको हक र अधिकार खोस्नु के एउटा विवेकशील, चेतनशील नागरिकका लागि सुहाउने कुरा हो ?

ढोकामा पुग्ने मालिकलाई दासले अभिवादन गरेझैँ झुकी-झुकी अभिवादन गर्ने अनि आफ्नो दुःखेसो पोख्दै आफ्नो चाहना, स्वार्थ पूरा गर्ने/गराउने कामका लागि देशको विद्यमान नियम, कानुनभन्दा बाहिर गएर वा नियम, कानुन तोडेर भए पनि आफ्नो अनुकूलको निर्णय गर्न दबाब दिनु, प्रभाव पार्नु वा रोइकराइ गर्नु हाम्रो मानसिकतामा जिउँदो रहेको ‘दास’को प्रतिबिम्ब हो । जब हामी सुशासन र पारदर्शिताको चाहना राख्छौँ भने राज्यसत्ताको पहुँचमा भएको व्यक्तित्वसित सम्पर्क गरेर नियमसङ्गतभन्दा नियमविपरीत कार्य गर्ने/गराउने प्रवृत्तिको विरोध वा निषेध गर्ने/गराउने काममा सक्रिय हुनु अनिवार्य छ । शक्तिशाली हुँदा ज्यू गर्ने, दासझैँ ढोका कुर्न पुग्ने, कमजोर हुँदा खेदो खन्ने, सम्पर्कविहीन हुने नेपाली प्रवृत्ति विवेकहीनताको पराकाष्ठा हो । स्मरण रहोस्, यो संसारमा समयले कसैलाई पनि सधैँ साथ दिँदैन । एउटा याममा रुखको पात झर्दैमा त्यो रुखको अस्तित्व समाप्त हुन्छ र ? फेरि मुना पलाएर हरियाली छाउनेछ । तसर्थ संयम र मानवोचित व्यवहार गर्न सक्षम भयौँ भने हाम्रो सामाजिक वा राष्ट्रिय सद्भाव कहिल्यै पनि बिग्रनेछैन ।

नेपाल भौगोलिक रूपमा सानो भएर नै होला वा हाम्रो सद्भावपूर्ण संस्कारको कारणले होला, मेचीदेखि कालीसम्म नागरिकहरूमा कुनै न कुनै प्रकारको सञ्जाल वा सम्पर्क वा पहुँचको वातावरण छ । नियमविपरीत निर्णय गर्न/गराउन कुनै न कुनै प्रकारको नाता जोडेर हुन्छ कि, अर्को नजिकको साथीमार्फत् हुन्छ कि आफ्नो उद्देश्य पूर्तिका लागि राज्यशक्तिमा रहेको व्यक्तित्वसम्म पुग्ने/पुऱ्याउने गलत संस्कार जिउँदो छ । यसले गर्दा नाता र आफन्त अनि आफन्तको पनि आफन्त मानिसलाई आफ्नो भन्दै भावनामा बहकिएर वा दबाबमा परेर वा आफ्नाले नराम्रो नगर्ला भन्ने विश्वासले वा अनैतिक लाभ लिएर गलत निर्णय गर्ने÷गराउने काम हुँदै आएको छ ।

कानुन मिचिने, नीति तोडिने, भ्रष्टाचार बढ्ने, अनियमितता बढ्ने मूल कारण ‘ढोके प्रवृत्ति’ र ढोके (दास)लाई चित्त बुझाउन गरिने मालिक ‘जङ्गे’ निर्णयहरूले समाजमा ठूलो विकृति र विसङ्गति अनि विद्रोहलाई बढावा दिएको छ । ढोके (दास)हरू ढोकामा नआउँदा मालिकहरूमा (नेता, उच्च प्रशासक, महाजन आदिमा) छट्पटिने मानसिकता रहुञ्जेल नीति-नियम अर्थात् सुशासनको व्यवस्थापन वा कार्यान्वयनको आशा राख्नु मूर्खता नै हुनेछ ।

तपाईं-हाम्रो ढोके प्रवृत्तिले राज्यका संयन्त्रको वा राज्यले योजना कोर्ने, विकास निर्माण गर्ने/गराउने कार्यमा राम्रो, इमान्दार, योग्य र सक्षम व्यक्तित्व रोज्ने अवसरबाट बन्देज वा विमुख बनाएको छ । हामी (ढोके) राज्य सञ्चालकको बुद्धि, विवेकको पर्दा बनेर ढोकामा उभिन पुग्छौँ र दबाबमा पार्छौं, प्रभावमा पार्छौं अनि कसरी असल, सक्षम, योग्य र इमान्दाइमान्दार नेता वा प्रशासकको अपेक्षा गर्न सक्छौँ ?

विवेकशील नागरिकहरू अरुको अर्थात् योग्यको भाग खोस्नु हुन्न भन्ने बुझ्छन् र ढोकामा पुगेर आफू अयोग्य हुँदाहुँदै पनि आफ्नो हक अधिकार नहुँदा पनि मौका छोप्ने भ्रष्ट मानसिकता प्रदर्शन गर्दैनन् । विवेकशील नागरिकहरू अरुको भाग खोस्ने होइन, बरू आफ्नो सीपअनुसार आफ्नै क्षमता र योग्यतामा आधारित भएर गौरवशाली, उच्च मनोबलको जिन्दगी बिताउन चाहन्छन् न कि दासझैँ उपहार, कोसेली, नगद बोकेर राज्यशक्तिमा पहुँच भएकाहरूको सम्पर्कमा पुगेर अरुको भाग खोस्ने सामाजिक अपराध गर्छन् ।

जब एउटाले आफ्नो स्वार्थपूर्ति गर्न गैरकानुनी काम गराउन कोसेली वा निवेदन बोकी पहुँचको व्यक्तित्वको ढोका कुर्न जान्छ भने त्यसले यो पुरातन दासत्वरूपी सोच वा त्यसको उदाहरण मात्र होइन, समाजको नीति, नियम तोड्ने र भ्रष्टाचारलाई अभिप्रेरित गर्ने वा प्रोत्साहित गर्ने पनि गर्र्छ । हामी भ्रष्टाचार खराब हो भन्ने जान्दाजान्दै पनि भ्रष्टाचार गर्न ‘कोभन्दा को कम’झैँ प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेका छौँ । अनि प्रत्येकले यसरी नै अनुशरण गर्दै जाने हो भने यो राष्ट्रप्रति जिम्मेवार को त ? नैतिकवान् इमान्दार, सदाचारी नागरिक कहाँ खोज्न जाने ? विदेशबाट आयात गर्ने अब पुस्तकझैँ ?

राष्ट्रनिर्माता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायणले भन्नुभएको थियो- ‘घुष लिन्या र दिन्या दुवै राष्ट्र (मुलुक)का शत्रु हुन् ।’ अर्थात् गलत नियत र स्वार्थ बोकेर ढोकामा चाकरी गर्न जाने र लोभलालचमा कोसेली (घुस) ग्रहण गर्ने दुवै देशका दुश्मन हुन् । नियम, कानुन तोडेर अनियमितता गर्ने/गराउने दुवै देशका अपराधी हुन् । तपाईं-हामीलाई त्यो सामाजिक अपराध गर्नु छैन भने त्यो निकृष्ट कोटीमा पर्नु छैन भने ‘ढोके प्रवृत्ति’लाई आजैबाट त्यागौँ ।

देश भ्रष्टाचारविहीन होस् अर्थात् भ्रष्टाचारमुक्त होस् भन्ने चाहने हो भने पहिले प्रत्येक नागरिकमा ढोके (भ्रष्टाचारी) मानसिकता त्यागेर आफ्नो योग्यता, क्षमताको आधारमा मात्र उपलब्धि खोज्नुपर्छ । योग्यको भाग खोस्नु हुँदैन, यो अनैतिकता, अविवेकशीलता हो । त्यसैले यस्तो सोच त्याग्नुपर्छ र व्यवहारमा कार्यान्वयन गरेर देखाउनुपर्र्छ । पैसा, पद वा कुनै विशेष उपलब्धि व्यक्तिको योग्यता, दक्षता, क्षमता, समय र प्रतिबद्धताबाट मात्र प्राप्त हुन्छ भन्ने कुरा विवेकशील नागरिकलाई थाहा नहुने कुरो भएन ।

एक जिम्मेवार र विवेकशील नागरिकले आफ्नो योग्यता र अधिकारभन्दा बाहिर कुनै कुरा प्राप्त गर्ने/गराउने काम गर्न सक्दैन, किनकि न उसलाई जेल जाने रहर हुन्छ न त सामाजिक प्रतिष्ठामा असर पुऱ्याएर आफ्नो आत्मबल गिराउने जोखिमयुक्त काम गर्र्छ ।

गैरकानुनी कमाइ वा उपलब्धि स्थायी हुँदैन । यसले आडम्बरलाई प्रोत्साहन गर्छ । निरन्तर अनियमितता गर्न उक्साइरहन्छ, जसले व्यक्तिलाई समाजमा बदनाम मात्र बनाउँदैन, रातको निद्रा पनि उडाइदिन्छ, मानसिक तनाव मात्र बढाइदिन्छ ।

हुन त जिम्मेवार ठाउँमा बसेका व्यक्तित्वहरूले अख्तियार दुरूपयोग गर्ने मनसाय वा मानसिकता देखाएपछि नै सर्वसाधारण वा उनीहरूका आफन्त पहुँच र क्षमताको आधारमा अनियमितता गर्न/गराउन उत्साहित हुने हुन् । यहाँ पञ्चायतकालीन दुई प्रशासकका साधारण उदाहरण दिन चाहन्छु । एक जना हुनुहुन्थ्यो- रमेश ढुङ्गेल, जसले लामो समयसम्म नेपाल औद्योगिक विकास निगममा काम गर्नुभएको थियो । म भर्खर एसएलसी पास गरेर कलेज भर्ना भएको थिएँ । कतै जागिर खानुप¥यो भनेर उहाँको कार्यालयमा गएको थिएँ । उहाँले भन्नुभयो- ‘तिमी ढुङ्गेल नभएको भए म मेरो कार्यालयमा राख्ने थिएँ, अरुले आफन्त भर्ना ग¥यो भनेर कुरो काट्छन्, म बरू अरु अफिसमा भनिदिन्छु, यो अफिसमा राख्न सक्दिनँ ।’ अब को जाने उनको घर वा अफिसको ढोकामा ?

अर्का हुनुहुन्थ्यो- तत्कालीन प्रधानन्यायाधीश स्व. धनेन्द्रबहादुर सिंह । त्यसबेला उहाँको छोरा प्रदीप सिंहलाई तात्कालीन शाही नेपाली सेनाको कुनै पदमा भर्ना हुन मन लाग्यो । उनले आवेदन दिइसकेपछि आफ्ना बुबा (प्रधानन्यायाधीश)सँग सेना प्रमुखलाई भनिदिनुहोस् भनेर छोराले भन्दा उहाँले भन्नुभयो- ‘आफ्नो क्षमताले भ्याए खाने, नत्र नखाने…, म भन्न सक्दिनँ ! झुकेर कसैबाट एउटा काम लिए भोलि दस काम लिएर आउँछन् । मबाट यो भनसुन गर्ने काम हुन्न ।’ पहिलो पटक सेकेन्ड लेफ्टिनेन्ट परीक्षामा प्रदीप असफल भए, तर दोस्रो पटक भने स्वयम् उत्तीर्ण हुन सफल भए ।

यो उदाहरणले के देखाउँछ भने यदि उच्च पदमा बस्नेले साँच्चिकै अनियमितता गर्ने चाहना राखेनन् भने ढोके/धुपौरेहरूले प्रभाव वा दबाब पार्न गाह्रो हुन्छ । यसरी हामी स्वयम् ‘अख्तियार दुरूपयोग गर्न/गराउन हुन्न, हाम्रो होइन राम्रो खोजुन्’ भनेर सकारात्मक बनी ढोका कुर्न नजाने हो भने निश्चय नै त्यस्ता प्रभावशाली व्यक्तित्वहरू पनि सच्चिने निश्चित छ वा सच्चिनु अनिवार्य हुन्छ ।

हामी अहिले देशको भ्रष्टाचार, विसङ्गति वा देश विकास हुन नसक्नुमा जति नेतृत्ववर्गको दोष देख्छौँ, वास्तवमा हामी पनि बराबरी दोषको भागिदार छौँ, सहभागी छौँ । हामी त्यस दोषबाट अलग्गिन सक्यौँ भने मात्र पनि हामीले देश निर्माण र सुशासनका लागि ठुलै योगदान गरेको ठहरिने छ ।

हाम्रो समाजमा एउटा अति नै नकारात्मक कथन छ- ‘सोझो औँलाले घ्यु आउँदैन ।’ यो कथनले समाजलाई गलत बाटो खोज्न वा अनियमितता अपनाउन प्रोत्साहन मात्र गर्छ । एक त यो जमानामा अब औँलाले घ्यु झिक्ने चलन गयो, चम्चाले झिक्ने हो । दोस्रो, यदि हामीमा अलिकति पनि विवेक पलाएको अवस्थामा वा ज्ञान उपलब्ध भएको अवस्थामा आफ्नो औँलाको प्रकारअनुसार सीधा औँला चोपेर जति घ्यु टाँसिएर आउँछ त्यतिमै सन्तोष रहन सक्नुपऱ्यो, अर्थात् आफ्नो योग्यताअनुसार प्राप्त हुने उपलब्धिमा खुसी र सन्तोष मान्न सक्नुपऱ्यो । औँलो टेढो गर्नु भनेको अनैतिक, अनियमित र भ्रष्टाचार वा गैरकानुनी तवरले आफ्नो स्वार्थअनुकूल गर्नु हो, जुन सभ्य र विवेकशील समाज निर्माणका लागि बाधक मात्र होइन, लज्जास्पद सोच पनि हो ।

समाजमा उपलब्ध सीमित अवसरहरूलाई योग्य र दक्षले नै पाउनुपर्ने विश्वव्यापी मान्यता हो तर हामी त्यो मान्यताविपरीत आफ्नो स्वार्थका लागि योग्यको भाग खोस्न औँला टेढो पार्दै प्रभावशाली व्यक्तित्वको ढोकामा अनुनयविनय गर्न जान्छौँ । यस्तो सामाजिक अपराधलाई हामी नागरिक स्वयम्ले रोक्ने हो अनि मात्र हामीले नेपाललाई अन्य विकसित मुलुकको दाँजोमा पुऱ्याउन र हामी पनि अरु देशका नागरिकभन्दा कम चेतनशील, विवेकशील र सभ्य छैनौँ भनेर व्यवहारमै देखाउन सफल हुन्छौँ ।

सबैले आफ्नो क्षमता र समयअनुसार औँला टेढो पार्दा हाम्रो समाज, प्रशासनिक संयन्त्र र सम्पूर्ण राजनीति वा पद्दति नै विकृत बनाइसकेका छौँ । अब हामीले औँलो टेढो पार्दै पहुँचवालाको ढोकामा चहार्ने, कोसेलीपात बोक्ने (घुस, कमिसन) दासतापूर्ण मानसिकता परित्याग गरौँ । प्रविधिको जमाना छ, पारदर्शी प्रशासन बनाउन पहल गरौँ । दार्शनिक चाणक्यले भनेका छन्- ‘चतुऱ्याइँ बुद्धिमानको कलङ्क हो ।’ हाम्रो समाजमा त्यस्तो चतुऱ्याइँभित्र झूठ, धुर्त्याइँपूर्ण भाषा, मिलावट, नक्कली उत्पादन एवम् बिक्री, छलकपट, नक्कली शैक्षिक प्रमाणपत्र आदि पर्छन् । देशको एक जिम्मेवार नागरिकको दर्जा पाउन अर्कोलाई असुविधा र नोक्सानी नपुऱ्याउने सोच भएको हुनुपर्छ । ढोका कुर्ने र अनाधिकृत रूपमा प्रभावशाली वा पहुँचको व्यक्तित्वलाई आफ्नो स्वार्थपूर्ति गराउन प्रभाव र दबाब पार्ने हाम्रो प्रवृत्तिले नै नेतृत्व वर्गलाई भ्रष्ट, अनैतिक र कमजोर बनाएको छ ।

नीति, नियम र सिद्धान्तको अवमूल्यनले स्थापित बाटाहरू भत्किएका छन् । यसले गर्दा जे-जस्तो पद्दति, नेता वा नीति पनि असफल र बदनाम भएका छन् । यस्तो हुनुमा हामी नागरिकको ठूलो भूमिका छ । त्यसैले साँचो अर्थमा समाज र राष्ट्र परिवर्तन गर्ने हो भने नागरिक आचारसंहिता नागरिक स्वयम्ले लागू गर्नुपर्छ, परमुखीभन्दा आत्मनिर्भर हुने विकल्पलाई प्राथमिकतामा राख्नुपर्छ ।

हामी हिन्दूबहुल समाजका नागरिक हौँ । हाम्रो प्रसिद्ध ग्रन्थ गीतामा श्रीकृष्णले भन्नुभएको छ- ‘समयभन्दा पहिले र भाग्यभन्दा ज्यादा कसैलाई केही मिल्ने छैन ।’ इमान्दारीपूर्वक जे उपलब्ध छ, त्यसैलाई ठूलो ठानी सन्तोष मान्दै धैर्यपूर्वक काम गर्दै जाने हो भने एक दिन निश्चय नै सफल हुन सकिन्छ, एउटा स्वाभिमानी नागरिकको दर्जा कमाएर गौरव गर्न सकिन्छ ।

आज प्रत्येक नागरिकले आफ्नो शिक्षा, दक्षता, क्षमता र इच्छाअनुकूल कानुनसम्मत, नियमित र इमान्दारीपूर्वक पारदर्शी विकल्प खोज्नुपर्छ, जसले गर्दा प्रत्येक व्यक्तिमा ‘मैले कसैको केही बिगारेको छैन, मैले कसैमाथि अन्याय गरेको छैन, मैले कहीँ कसैको भाग खोसेर खाएको छैन, म यो समाजको एक इमान्दार, सदाचारी र जिम्मेवार नागरिक हुँ’ भन्ने आत्मगौरव बढ्नेछ । यसरी उच्च मनोबलका साथ समाजमा आफ्नो मर्यादा बढाउन आदरभाव कमाउन सकिन्छ । अझ भनौँ, समाजको एक अनुकरणीय आदर्श सदस्य बन्न सफल हुनेछौँ । प्रत्येकले प्रत्येक अर्को नागरिकलाई यसरी नै अनुकरणीय देख्ने हुनु भनेको हाम्रो समाज सभ्य हुनु हो, विवेकशील हुनु हो, सकारात्मक सोचको बाहुल्य भएको देश हुनु हो ।

के तपाईं-हामी समाजमा सम्मानित र मर्यादित वा एक अनुशरण गर्नलायक नागरिक बन्न इच्छुक छैनौँ ? छौँ भने आउनुहोस्, देशको अनियमितता र भ्रष्टाचार हटाएर सुशासन स्थापित गर्न सहायक बनौँ । आजैबाट हाम्रो देशको महारोग यो ढोके प्रवृत्तिको अन्त्येष्टि गरौँ ।