पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौज्दारी अभियोग

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौज्दारी अभियोग


अमेरिकी इतिहासमै पूर्वराष्ट्रपतिलाई फौज्दारी अभियोग लागेको यो पहिलो घटना

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौज्दारी अभियोग लागेको छ । वर्षौंको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौज्दारी अभियोग लगाएको हो ।

फौज्दारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् ।जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमा लड्ने योजना पनि चक्नाचुर भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको खुलासा गरेकी छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन् भने उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएका जिकिर गरेका छन् ।

म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका उनी आगामी मङ्गबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा ट्रम्पले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ । शुक्रबार नै उनलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौज्दारी अभियोग लागेको यो पहिलो घटना हो ।