तीन महिनामा धेरै काम भएको प्रधानमन्त्रीको दाबी

तीन महिनामा धेरै काम भएको प्रधानमन्त्रीको दाबी


  • तस्बिर : रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको जिकिर गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा-लामा लाइन हटेको बताए । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।

‘सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्, एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ’, प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले अगाडि भने, ‘विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस-युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’

बैठकमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आगामी दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराएकी थिइन् ।