प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता

प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता


file photo: rss

प्रधानमन्त्री प्रचण्डसँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएका उनको सचिवालयले जनाएको छ ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ ।

अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याजपीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषदमा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए ।