बेल्जियममा नेपाल महोत्सवको तयारी अन्तिम चरणमा

बेल्जियममा नेपाल महोत्सवको तयारी अन्तिम चरणमा


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसीले राष्ट्रिय समन्वय समितिहरुले नियमित रुपमा आयोजना गर्ने नेपाल महोत्सवले नेपाल देशको कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न ठुलो सहयोग पुगिरहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमद्वारा नेपाली नयाँ वर्ष २०८० को अवसरमा लुभेनमा आयोजना गर्ने नेपाल महोत्सवको सन्दर्भमा शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष केसीले उक्त धारणा राखेका हुन् ।

अध्यक्ष केसीले केन्द्रको निर्णय र कार्यक्रमअनुसार नै संसारभरी राष्ट्रिय समन्वय समितिले नेपाल महोत्सव आयोजना गर्ने गरेको स्मरण गर्दै महोत्सवमा नेपालमा उत्पादित बस्तुहरुको प्रदर्शनीले विश्वबजारमा प्रवेश पाउने र यसबाट व्यवसायीहरुलाई व्यापार प्रवर्धनमा प्रोत्साहन हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले हाल नेपालमा देखिएको व्यापार घाटालाई समेत भविष्यमा पूर्ति गर्न सक्ने जिकीर गर्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाल महोत्सवमा विदेशी पाहुनाहरुलाई अधिकतम रुपमा सहभागी गराउन प्रयत्नहरु भइरहेको र यसका लागि बेल्जियमस्थित रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुको समेत सहयोग हुने बताउनुभयो ।

अध्यक्ष केसीले महोत्सवमा नेपाली मौलिक खानाको परिकारहरु, नेपाली बस्तु, कला, संस्कृति लगायत नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन नेपाली पर्यटनसम्बन्धी श्रव्यदृष्य सामग्री समेत प्रस्तुत गर्न लागिएको र महोत्सव अवलोकनका लागि बेल्जियम सरकार प्रमुख लगायत कुटनीतिक नियोगका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

नेपाल महोत्सव व्यवस्थापन समितिका संयोजक तीर्थराज धमलाले महोत्सवको तयारीका सम्बन्धमा जानकारी दिँदै महोत्सवले बेल्जियमका नेपाली युवा पुस्ता र बालबालिकाहरुको आकर्षणलाई समेत ध्यानमा राखेर तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रीय उपमहासचिब रामशरण सिम्खडा, केन्द्रीय प्रवक्ता सोम सापकोटा, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरणकुमार खवासलगायतकले महोत्सवका विविध पक्षमा सुझाव दिनुभएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा पत्रकार सनत आचार्य, चीरण शर्मा, सरस्वती कार्की, राजकुमार सिग्देल, राजकुमार थापा, पञ्चम अधिकारीलगायतले महोत्सवको तयारीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम् शर्माले गर्नुभएको थियो भने आगामी १५ अप्रिल शनिबार (वि.सं. २०८० वैशाख २) हुने नेपाल महोत्सवमा दश हजारको हाराहारीमा सहभागी हुने अपेक्षा रहेको गैरआवासीय नेपाली संघ बेल्जियमका कोषाध्यक्ष लोकेन्द्र नेपाल (पुष्प) ले जानकारी दिनुभयो ।

कोषाध्यक्ष नेपालले भने ‘यो कार्यक्रम बेल्जियमबासी नेपालीहरुको साझा कार्यक्रम भएकोले सबै नेपाली जोडिने’ भन्दै कार्यक्रममा नेपाली दूतावास ब्रसेल, लुभेन नगरपालिका लगायत अन्य सामाजिक संघसंस्थाहरुले आर्थिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो । महोत्सव न्यूनतम खर्चमा अधिकतम सफलता पाउने गरी आफुहरुले काम गरिरहेको जानकारी दिँदै उहाँले कार्यक्रमबाट थोरबहुत रकम बचाउन सके नेपाल तथा नेपालीको हित र सामाजिक काममा पछि खर्च गरिने तर्क प्रस्तुत गरे ।

आयोजकका अनुसार महोत्सवमा नेपाली खाना, नेपालमा उत्पादित बस्तु र प्रचारप्रसार सामग्री सहितका एक दर्जन भन्दा बढि स्टलहरु रहने छन् । त्यस्तै कार्यक्रममा उपस्थित दुई जना विदेशी नागरिकलाई चिठ्ठामार्फत नेपाल आतेजाते हवाइ टिकट र खानबस्न सहित पाँच दिने प्याकेज प्रदान गरिने छ । आवास तथा भोजनको व्यवस्था रुपाकोट रिसोर्टको समायोजनमा हुने छ ।

महोत्सवको शुरुमा नेपाली कला-संस्कृति तथा भेषभूषाको झाँकीले लुभेन नगरका केही मुख्य सडक परिक्रमा गर्ने छ । त्यसपछि औपचारिक कार्यक्रमको शुभारम्भ हुने बताइएको छ ।

महोत्सवमा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिन स्थानीय कलाकारहरुले दिनभरी नै नृत्य तथा गीतहरु प्रस्तुत गर्ने छन् भने महोत्सव बिहान ११ बजेदेखि राती १० बजेसम्म चल्ने छ ।