कांग्रेसले उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

कांग्रेसले उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने


नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए। बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।