नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ सुरु गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा रु. तीन अर्ब २७ करोड बराबरको उक्त परियोजना सोमबारदेखि सुरु गरेको हो । परियोजना स्वास्थ्य मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुऱ्याउन वित्तीय सहायता प्रदान गरिने बताइएको छ ।
परियोजनाले नेपाली नागरिकलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न सङ्घीय र प्रादेशिक तहमा सरकारको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने उनले बताए । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले परियोजनाले नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२-२०३० का लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने जानकारी दिए ।
अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘यो साझेदारी नेपालको स्वास्थ्य क्षेत्रमा दशकौँ लामो अमेरिकी सहयोगका साथै कोभिड-१९ महामारीको समयमा नेपालमा भएको सहकार्यका अनुभवमा आधारित भएकोले यसपरियोजनामार्फत विकट भौगोलिक क्षेत्र तथा सीमान्तकृत समुदायमा जीवनयापन गरिरहेका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन र उनीहरूको आकस्मिक अवस्थासम्बन्धी तयारी र प्रतिकार्य गर्न अझ सक्षम भएको सुनिश्चित गर्न सहयोग गर्नेछ ।’
प्रतिक्रिया