- विकाश रौनियार, धादिङ
मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
धादिङ जिल्ला अदालतको २१ गते भएको थुनछेक आदेशले सातै जना प्रतिवादीहरुलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङमा पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
कारागार चलान हुनेहरुमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३२ की कविता बानियाँ (आचार्य), धादिङको त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ बस्ने वर्ष ३६ की गीता न्यौपाने र सोलुखुम्बुको नेचा सल्यान गा.पा. वडा नं. २ स्थायी घर भइ हाल काठमाडौंको गंगबुमा डेरा गरी बस्ने वर्ष ३५ की कमला नेपाली रहेका छन् ।
यसैगरी, धादिङको त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ स्थायी घर भइ धादिङवेशीमा होटल गरी बस्ने वर्ष ३९ की कल्पना आले मगर, त्रिपुरासुन्दरी गा.पा. वडा नं. १ बस्ने वर्ष ३९ का कोपिल दमै, त्रिपुरासुन्दरी गा.पा. वडा नं. ३ बस्ने वर्ष ४४ को रुपेन्द्र अधिकारी र त्रिपुरासुन्दरी गा.पा.वडा नं. ३ बस्ने वर्ष २१ की अस्मिता नेपाली रहेका छन् ।
मंसिर १६ गतेबाट १६ वर्षीया नावालिका धादिङबाट हराइरहेको हुँदा खोजतलास गर्ने क्रममा उल्लिखित सात जना मिलेर बालिकालाई अपहरण गरि मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका कटाएर भारतको पहाडगंजमा पुऱ्याएका थिए ।
कन्याकेटीको बली चढाएर पुजा गरे प्रशस्त पैसा आफै वर्षन्छ भनी पैसाको प्रलोभनमा पारि भारतीय मानव तस्करहरुसँग मिलेर ती बालिकालाई भारतसम्म तिनले पुऱ्याएका बताइएको छ ।
विभिन्न संघसंस्था तथा किङ इन्डियासँग नेपाल प्रहरी प्रधानकार्यालय मानव बेचबिखन ब्यूरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट पीडित बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन् ।
प्रतिक्रिया