उज्यालो सपना र संकल्प लिएर फर्किए बोष्टनबाट नेपाली साहित्यानुरागीहरु

उज्यालो सपना र संकल्प लिएर फर्किए बोष्टनबाट नेपाली साहित्यानुरागीहरु


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोष्टन घोषणा पत्रमा के छ ?

  • डिल्ली अम्माई/बोष्टन

सन् २०२३ अर्थात् यही वर्षको मार्च १०, ११ र १२ तारिकको गहन साहित्यिक बहसपछि तेह्र बुँदे घोषणा जारि गर्दै पाँचौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ग्लोबल को (च्याप्टर तथा महिला) सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकाको बोष्टनमा विगतका गतिविधिहरुको ब्यापक बहस गरी च्याप्टरहरुका सुझाव र महिला स्रष्टाहरुका निष्कर्ष तथा अपेक्षाहरुलाई समेत मध्यनजर गर्दै समाजका ग्लोबल अध्यक्ष गोवर्धन पुजाको सभापतित्वमा अनेसास च्याप्टर तथा महिला सम्मेलन सम्पन्न भएको हो ।

विश्वभरिबाट आएका च्याप्टर प्रतिनिधि, पर्यवेक्षक तथा साहित्यकारहरुको जमघटबीच सम्मेलनका प्रमुख अतिथि अमेरिकाका सिनेटका सदस्य डा. ह्यारी भण्डारीले पानसमा बत्ति बालेर सम्मेलनको समुद्घाटन गर्नुभएको थियो ।

नेपाली साहित्यकारहरुको ग्लोबल सम्मेलनले च्याप्टर विशेष र महिला विशेष सेसन संचालन गरि नेपाली भाषा तथा साहित्यको उत्थानको बारेमा ब्यापक बहस चलाएको थियो ।

सम्मेलनले बहसमा ल्याएका र निष्कर्षमा लगेका महत्वपुर्ण योजना तथा समीक्षाको टिप्पणी उठाउन र निष्कर्षका घोषणाहरु तयार गर्न अनेसास बेल्जियमका अध्यक्ष तथा पत्रकार डिल्ली अम्माई, नर्थन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईं र जापानका च्याप्टरका अध्यक्ष रविन शर्मालाई दिइएको थियो।

खास गरेर डिल्लीराम अम्माई र गीता बजगाईंले संयुक्त रुपमा तयार गरेको घोषणा पत्र सम्मेलनबाट अनुमोदन गराई सम्मेलनको अन्त्यतिर डिल्ली अम्माईले मञ्चबाट वाचन गरेर सुनाउनुभएको थियो ।

अनेसासले सम्मेलनमा घोषणा गरेको १३ बुँदे घोषणा पत्रका संक्षिप्त बुँदाहरु निम्न प्रकार छन् :

१) नेपाली भाषा शिक्षण शिकाईमा एकरुपता ल्याउन पाठ्यक्रम तयारीको गृहकार्य गर्ने र भाषा अध्यापन गराउने गुरुहरुको सम्मानमा आवधिक र दीर्घकालिक मापदण्ड बनाएर काम गर्ने,

२) भाषा शिक्षण सिकाइ (भाषिक जागरण)लाई प्रभावकारी बनाउन शिक्षक प्रशिक्षण, अभिभावक र विद्यार्थीलाई प्रेरणा जागृत गराउने खालका कार्यक्रम निर्माण गर्ने,

३) नेपाली साहित्य,कला र संस्कृतिको प्रभावकारी प्रचार प्रसार र प्रवर्द्धनमा जोड दिने र सम्भव भएसम्म स्थानीय सामाजिक संघ संस्थाहरुसंग मिलेर काम गर्ने वातावरणको निर्माण गर्ने गराउने,

४) प्रवाशमा लेखिएका साहित्यिक कृतिहरुको अभिलेख राख्ने र अनेसास पुस्तकालय निर्माणमा जोड दिने,

५) अनेसास केन्द्रले वार्षिक क्यालेन्डर निर्माण गर्ने, शाखाहरुले पनि त्यसलाई अनुशरण गर्दै आफ्ना गतिविधिलाई अझ चुस्त र प्रभावकारी रुपले लागु गर्नुपर्ने,

६) संस्थागत गतिविधिको गहन प्रभावकारिताको लागि सम्मेलन,अधिवेशन र बैठकहरु प्रस्तावित बिषयमा केन्द्रित रहेर चुस्त र प्रभावकारी गर्ने गराउने मापदण्ड बनाइने,

७) केन्द्र र माताहतका सम्पूर्ण च्याप्टरहरुले आफ्ना भावी योजनाहरुलाई तात्कालिक र दीर्घकालिक अभियानहरुबीच बिभाजन गरि कार्यान्वयनमा लैजाने,

८) अनेसास केन्द्रले स्वतन्त्र तथा निष्पक्ष कृति समिक्षा बोर्ड बनाएर प्रवासमा प्रकाशित कृतिहरुको समीक्षागत समस्यालाई हल गर्ने,

९) भाषा अनुवादनको लागि अनुवादकको उत्पादन तथा नेपाली साहित्यमा उच्च शिक्षा आर्जन गर्न चाहने प्रवाशी मुलका नेपालीलाई छात्रवृतिको ब्याबस्था गर्न नेपालका सम्बन्धित निकायलाई नीति तहमा सहजताकोलागी पहल गर्ने,

१०) उत्कृष्ट कृति छनौट गरि वा कमसेकम नेपालामा प्रतिष्ठित पुस्कार पाएका साहित्यिक कृतिहरुको महत्वपुर्ण विश्व भाषा (विशेषगरी अंग्रेजी, चाइनिज, फ्रेन्च, स्पेनिस र अन्य) अनुवादनमा जोड दिने,

११) अनेसास पुरस्कार चाहे त्यो पठनपाठन गतिविधिबारे होस्, च्याप्टरसंग सम्बन्धित होस् वा कृतिसँग सम्बन्धित होस् निर्णायक मण्डल बनाउँदा स्वच्छता, निष्पक्षता, निश्चितता, समानता र समानुपातिक सहितको न्यायिक पद्धति आत्मसात् हुने गरी च्याप्टरको लागि र केन्द्र तथा ट्रष्टीको लागि नीतिगत ब्यवस्था गर्ने । (मापदण्ड तय गरेर पुरस्कारकोलागि छनौट गर्ने र च्याप्टरहरुले पनि केन्द्रको अनुमति लिएर मात्र पुरस्कार घोषणा र वितरण गर्दा पुरस्कार वितरणको गरिमा कायम हुनेछ र पुरस्कार अराजकताको अन्त्य हुनेछ ।)

१२) शाखा अनुगमन र अधिवेशनको लागि केन्द्रले प्रतिनिधि तोक्ने ब्यबस्थालाई लागु गर्ने र पारदर्शिताको लागी वार्षिक तथा कार्यकालको बजेट घोषणा र विनियोजन गर्ने।

१३) महिला सम्मेलनमा उठेका अनेसासको प्रतिनिधित्वबारे, समानुपातिक सहभागिताबारे र नेपालका अन्य भाषाभाषीमा लेखिएका कृतिहरुलाई समान महत्व दिंदै नीतिनिर्माण, गतिविधि, सहभागिता र संगठनको प्रतिनिधित्वमा विधि निर्माण गर्दै अगाडी बढ्ने : सम्बन्धित समितिको कार्य, अनुभव र अपेक्षाका विषयमा निरन्तर छलफल गर्ने, अन्तर्क्रिया गर्ने र महिला नेतृत्व हुर्काउने तथा दिशाबोध गर्ने कार्यलाई निरन्तरता दिने र नेपालमा लेखिने र बोलिने सबै भाषाभाषीको उत्थानलाई समेत प्रेरणा र सहयोग प्रदान गर्ने विषयलाई समेत विशेष प्रार्थमिकताका साथ बहसमा लगिने ।

त्यस्तै, केन्द्र तथा च्याप्टरका पदाधिकारीहरुबिच नियमित सम्पर्क, समन्वय, सम्बन्ध, सहकार्य, सञ्चार गर्न तथा कार्य सम्पादनमा एकरुपता कायम गर्न र अनेसासभित्र संगठानिक अनुशासन कायम गर्नुपर्ने आवश्यकता देखिएमा क्षेत्रीय तहमा समेत संरचनागत अनुविधिको प्रबन्ध गर्ने लगायतका विषयहरुबारे बहस पछि निष्कर्ष निकालिएको थियो ।