आत्मदाह गरेका प्रेम आचार्यका नाबालक छोरीहरूको पठनपाठनका लागि बेल्जियमबासीले गरे सहयोग

आत्मदाह गरेका प्रेम आचार्यका नाबालक छोरीहरूको पठनपाठनका लागि बेल्जियमबासीले गरे सहयोग


  • सनत आचार्य

संघीय संसद् भवनअघिल्तिर शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका दुई छोरी आराध्या र आरुषीको पठनपाठनका लागि बेल्जियमबासीले संकलन गरेको पाँच लाख रकम प्रतिनिधिसभा सदस्य महेश बस्नेतले बिहीबार इलाममा आयोजित एक कार्यक्रमबीच पीडित पक्षलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले राज्यको नीतिबाट प्रताडित भएर आत्मदाह गरेको हुनाले उनका नाबालक दुई छोरीको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे ।

बेल्जियममा आर्थिक सहयोग संकलन गर्न प्रमुख भूमिका निर्वाह गरेका ताप्लेजुङका लोकेन नेपाल (पुष्प) ले आचार्यको आत्मदाहबाट मृत्यु भइसकेपछि उनीहरूको दुई नाबालक छोरीहरूको भविष्य र शिक्षादीक्षाका चिन्तित भएर आफूले आर्थिक सहयोग अभियान संचालन गरेको र छोटो समयमा पनि यो अभियानलाई माया गरेर एक सय तीन जनाबाट पाँच लाख रकम उठेको जानकारी दिए ।

बेल्जियममा सामाजिक अभियन्ताका रुपमा समेत परिचित नेपालले उक्त पाँच लाख रकम आराध्या र आरुषीको नाममा दुई लाख पचास हजार/दुई लाख पचास हजारका दरले खातामा जम्मा गरिदिएको र उक्त रकम उनीहरु सावालक भएपछि मात्र झिक्न पाउने बताए ।

अभियन्ता नेपालले बेल्जियमबासीहरूको सहयोग आचार्यकी छोरीहरुले उच्च शिक्षा हासिल गर्ने समयसम्मका लागि अत्यन्तै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपालले आचार्यको आत्मदाहबाट मृत्यु भइसकेपछि छोरीहरुको पठनपाठनको चिन्ताले आफुले फेसबुकमा आर्थिक सहयोगका लागि याचना गरेको र आफ्नो याचना र अनुरोधलाई स्वीकार गरेर बेल्जियमबासीले हार्दिकताका साथ सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।

स्मरण रहोस्, आचार्यको मृत्यु भइसकेपछि उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने भनेर नेपालले करिब एक हप्तासम्म रकम संकलन अभियान चलाए थिए, जसमा १०३ जना बेल्जियमबासीहरुले अधिकतम ११० र न्यूनतम १० युरोसम्म सहयोग गरेर कुल ३ हजार ७ सय ९५ युरो (करिब ५ लाख नेपाली रुपैयाँ) संकलन भएको थियो ।