गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उहाँले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका तीर्थस्थल र यस वरपरका फाँटहरू हिउँदमा सुक्खा हुने भएकाले कालिगण्डकी डाइभर्सन हुन नदिने बताए ।
‘कालिगण्डकी धार्मिक आस्था र मानव धर्म संस्कृतिसँग जोडिएको छ, डाइभर्सनले नदी बेसीका फाँट सुक्खा हुन्छन्, यसकारण हामी कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ’, उनले भनेका छन् । त्रिवेणीदेखि कोरलासम्म सडक आवागमन गर्न नसके गण्डकी प्रदेशको औचित्यमाथि प्रश्न खडा हुने उनले बताए । त्रिवेणी-कोरोला सडक प्रदेशकै महत्त्वपूर्ण सडक भएको बताउँदै दुम्किबास–त्रिवेणी खण्डमा सडक खोल्न बाँकी रहेकाले यो सडक नखोल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न खडा हुने उनले तर्क गरे ।
त्रिवेणी-दुम्किबास खण्डमा सडक निर्माणका लागि प्रदेश तयार रहेको र स्रोत सुनिश्चित गरी अघि बढ्ने उनको भनाइ छ । निकुञ्जका कारण केही समस्या देखिएकाले वातावरणीय प्रभाव अध्ययनले सुझाए अनुसारको काम गर्न आफूहरू तयार रहेको मुख्यमन्त्री अधिकारीले बताए । भारत र चीनलाई जोड्ने त्रिवेणीकोरला सडक सबैभन्दा छोटो दूरीको सडक भएकाले यसको महत्त्व थप रहेको चर्चा गर्दै उनले त्रिवेणी-दुम्किबास सडकखण्ड खोल्न आवश्यक प्रक्रिया अघि बढेको बताए ।
उनले संविधानमै गण्डकी प्रदेशको सीमा बर्दघाट सुस्ता पूर्व भनिएकाले बर्दघाट र सुस्ता गण्डकी प्रदेशमा हुनुपर्ने बताउनुभयो । बर्दघाट र सुस्ता हाल लुम्बिनी प्रदेशमा राखिएकाले यो गण्डकी प्रदेशको भूगोल भएको उनले बताए । संविधान मिचिएकाले यसका विरुद्ध आफूहरू कानूनी प्रक्रियामा जान तयार रहेको उद्घोष उनले गरे ।
प्रतिक्रिया