गीता बजगाईंका सुनेर नथाकिने मानवतावादी गीतहरु

गीता बजगाईंका सुनेर नथाकिने मानवतावादी गीतहरु


‘मानवताका स्वरहरुमा जगतप्रेम र करुणा पनि अटाउनुपर्छ’

✍ डिल्ली अम्माई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईंले लेखेका धेरै गीतमध्येका केहीको म्युजिक भिडिओ सार्वजनिक भएको छ । साहित्यकार बजगाईंले लेखेका गीत मानवतावाद र प्रकृति प्रेमसँग सम्बन्धित छन् । प्रवीण बेडवालको स्वरमा नयाँ मानवतावादी नेपाली गीत ‘पत्थरको जिन्दगी’ले लोकधुनमा मानवताको बिगुल फुकेको छ ।

सामाजिक अन्धविश्वासको आडमा सुखको किरण पर्खेर बस्नेहरुलाई
‘सुन्दर शान्त हिमाल पनि पग्लिएर झर्ने,
छातीभित्र चोट लाग्दा आँखा वर्षा गर्ने’
जस्ता संवेदनाका झिल्काहरुले करुणाको वर्षा नै गराइदिएको भान हुन्छ । गीतको अर्को हरफले
‘कुबाटोमा लाग्दा जीवन त्यसै खेर जान्छ,
सत्कर्मले मानव जीवन स्वर्ग तुल्य हुन्छ’
भन्दै अध्यात्मवादी दार्शनिक अलमल र सन्नाटा चिरेको छ।

निरास मानिसमा आशाको संचार गर्दै अर्को हरफले
‘पत्थरलाई फुटालेर गुराँस मुस्कुराउँछ,
रातलाई छिचोलेर जून झल्मलाउँछ’ ले
हामीलाई भविष्यको उज्यालोमा पर्खन बाध्य बनाएको छ । यो गीत सुन्दा र अभिनय हेर्दा मनमा अकस्मात प्रेरणा, करुणा र जगतप्रतिको मोह पैदा हुन्छ।

भिजुअलमा देखाइएको स्तुपाको लाइन, शिवजीको तस्बिर र परोपकारका दृश्यहरुले गीतमा अध्यात्म र मानवताको संचार गराएका छन् ।

त्यसको भिजुअलमा सुरवीर पण्डित र विजय पुनको साथमा हरि लम्सालले संगीतमा जीवन भरेका छन् । त्यो गीत अहिले साई भिजनको आधिकारिक युट्युब च्यानलमा मात्रै प्रस्तुत गरिएको छ।

मानवतावादी आवाजको स्वर पातलिँदै गएको वर्तमान परिप्रेक्ष्यमा यो गीत पक्कै पनि सदाबहार मानावीय प्रेरणाको शब्द स्वर बनेर विश्वभर गुञ्जने छ।

गीतकार गीता बजगाईंले लेखेको अर्को गीत “कहिले दिन कहिले रात” पनि सार्वजनिक भएको छ । फरिता खड्का, करण खतिवडा र ड्यानी निरौलाले आवाज दिएका हुन् भने यो गीतले जीवन र प्रकृतिबीचको विचित्र संगमलाई शाब्दिक कलाले प्राण भरिदिएको छ।

सुन्दर शान्त हिमाल पनि पग्लिएर झर्ने,
छातीभित्र चोट लाग्दा आँखा वर्षा गर्ने…

जस्ता जीवन संघर्षका पीडादायी हरफले जीवन चक्रभित्रका कठिन अन्तरक्रियालाई बडो मार्मिक ढंगले प्रकट गरेको छ। मानवातावादी गीत रचनाकार गीता भन्नुहुन्छ, ‘अब मानवताका संगीतका भाव र स्वरहरुमा जगत प्रेम र करुणा पनि अटाउन सक्नुपर्छ।’

उनका गीतहरुमा शब्दको गुञ्जन समुदायको हितको शीत बनेर स्वरबाट तप्केको छ । मानव समुदायलाई सत्मार्गमा लैजाने बाटोबाट भड्किँदै गएको कथित आधुनिकतावादलाई ओजस्वी प्रेम ज्ञानको झरनाले रुझाएर सर्वहितायाको मार्गमा ल्याउन प्रेरणा प्रदान गरेको छ । प्रकृतिको शीतलताबिनाको सृष्टि विनासको पर्खाइजस्तै हुने भयबाट उतार्न श्रष्टा गीता बजगाईंका गीत जीवन जगतको लागि प्रेरणा बनुन् ! चेतनाका बिज अङ्कुराउने उहाँका शब्दहरुको पारखिमा अझ सशक्तता आवस् । शुभकामना !